सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन लक्षित गतिविधिलाई तीब्र बनाउँदै नेता आले

२०८२ माघ ११, ०४:२४ खबर संवाददाता

धनगढी: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले निर्वाचन लक्षित गतिविधिलाई तीब्र बनाएका छन् ।

उनले निर्वाचन क्षेत्रभित्रका वडाहरुमा चुनाव परिचालन सचिवालय स्थापनाका साथै तयारी बैठकलाई तीब्रता दिएका छन् ।

शनिबारसम्म धनगढी उपमहानगरपालिका वडा नं. १,२,७,९,१४,१५,१८ र १९ मा निर्वाचन तयारी बैठक तथा वडास्तरीय निर्वाचन परिचालन सचिवालय स्थापना गरिएको र अन्य वडामा पनि बैठक,सचिवालय स्थापना गर्ने क्रम जारी जनाइएको छ ।

चुवानी तयारी बैठकमा बोल्दै नेता आलले बिगतमा आफू मन्त्री हुँदा थुपै विकासका कामहरु गरेको बताउँदै फेरि पनि कैलाली क्षेत्र नं. ५ को विकासका लागि आफूले प्रयत्न गर्ने बताए ।

उनले भने ‘मैले बिगतमा बनमन्त्री हुँदा कोरोनाकालको समयमा व्यक्तिगत ५० लाख लागनीमा अक्सिजन सिलिण्डरलगायतका सामान धनगढीको सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालमा वितरण गरेको थिए ।’

त्यस्तै उनले आफू पर्यटनमन्त्री हुँदा कौडीको भाउमा दिइएको नारायणहिटी राजदरबार फिर्ता ल्याउने काम गरेको बताउँदै प्राइभेट कम्पनीलाई दिइएको पशुपति धर्मशाला खाली गरिएको र पछि सर्वोच्च अदालतको स्टे अर्डरले रोकेको बताए ।

उनले बिगतमा क्यासिनोका सञ्चालकले ठगी गरेको राज्यको अरोबौँ रकम उठाउने काम गरेको,१८ सय मिटर रनवे भएको धनगढी विमानस्थललाई ७ सय मिटर थपेर अन्तरराष्ट्रिय विमानस्थल बनाउन ५ करोड बजेट व्यवस्था गरेको र पछि गएर रकम अन्तै रकमान्तर गर्ने काम भएको बताए ।

त्यस्तै उनले पर्यटनमन्त्री भएकै बेला कैलालीको बेहडाबाबा मन्दिरमा ५ करोड बजेटको व्यवस्था गरेको बताए । उनले यसपटकको निर्वाचन जितेपछि कैलालीको धनगढी चौराहा,क्याम्पस चोक,अत्तरिया र महेन्द्रनगरमा अण्डर पास सडक बनाउने योजना रहेको समेत बताए । उनले यी धेरै सवारी चाप हुने क्षेत्रमा अण्डर पास सडक निर्माण भए दुर्घटनाको जोखिम घट्ने उनले बताए ।

उनले भने ‘हामीले जनतालाई धोका दिने होइन् । आशीर्वाद लिने हो । आशीर्वाद पाएपछि जनतालाई खुशी बनाउने काम गर्ने हो ।’
डोटीबाट पटकपटक निर्वाचन जितेका आले यस पटक भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली झरेका हुन ।

उनले डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

कमेन्ट लोड गर्नुस