सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–२ मा एमालेले बनायो ३३३३ सदस्यीय चुनाव प्रचार समिति

२०८२ माघ ११, ०२:२५ खबर संवाददाता

धनगढी: नेकपा (एमाले) ले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन प्रचारप्रसार मूल समिति गठन गरेको छ। शनिवार बसेको क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीका उम्मेदवार सूर्यबहादुर थापालाई विजयी गराउने उद्देश्यसहित ३३३३ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरेको हो।

पार्टीका केन्द्रीय सदस्य कमला कुमारी वलीको संयोजकत्वमा मूल परिचालन समिति गठन भएको एमाले कैलालीका प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख चुडामणि भट्टले बताए।

बैठकले निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन ३५ सदस्यीय सचिवालय समेत गठन गरेको भट्टले बताए। निर्वाचन मूल परिचालन समिति र सचिवालयमार्फत घरदैलो अभियान, मतदाता सम्पर्क, प्रचार–प्रसार तथा संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

क्षेत्रीय निर्वाचन समन्वय कमिटीका अनुसार पार्टीको नीति, सिद्धान्त र उम्मेदवार थापाको राजनीतिक अनुभवलाई आधार बनाएर कैलाली–२ मा एमालेको पक्षमा जनमत सिर्जना गर्न सबै नेता–कार्यकर्ता एकताबद्ध भएर परिचालित हुने निर्णय गरिएको एमाले नेता डेजी पाण्डेले बताए।

बैठकले निर्वाचनलाई लक्षित गर्दै अनुशासित, मर्यादित र जनमुखी अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको नेता पाण्डेले बताए।

कमेन्ट लोड गर्नुस