सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बलको ५१ नं गुल्म बैतडी ‘उत्कृष्ट गुल्म’, डिएसपी कुँवर उत्कृष्ट कमाण्डर घोषित

२०८२ माघ ११, ०१:४९ नारायण अवस्थी

बैतडी: सशस्त्र प्रहरी बल (एपीएफ) सुदूरपश्चिम प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडी ‘उत्कृष्ट गुल्म’ घोषित भएको छ । साथै गुल्म प्रमुख डिएसपी जंगबहादुर कुँवर प्रदेशकै उत्कृष्ट कमाण्डर चयन भएका छन्। उनले आइजी कमान्डेसन पदमसमेत प्राप्त गरेका हुन्।

सशस्त्र प्रहरीले २०८२ सालमा सुदूरपश्चिम प्रदेशका ६ वटा गुल्मले सम्पादन गरेका कार्यहरूको मूल्यांकनका आधारमा ५१ नं गुल्म बैतडीलाई उत्कृष्ट गुल्म घोषणा गरेको हो । त्यस्तै प्रदेशभरका गुल्म कमाण्डरहरूमध्ये डिएसपी कुँवर उत्कृष्ट कमाण्डर घोषित भएका हुन्।

सीमा सुरक्षा, सीमापार अपराधको रोकथाम तथा नियन्त्रण, आन्तरिक प्रशासन, राजस्व संकलन, भन्सार छली नियन्त्रणलगायत विभिन्न क्षेत्रमा गरेको कार्यसम्पादनको मूल्यांकनका आधारमा ५१ नं गुल्म बैतडी उत्कृष्ट ठहरिएको जनाइएको छ।

यस्तै संगठन परिचालन, कमाण्डिङ क्षमता, नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुदृढीकरण तथा सीमा अनुगमनमा उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा डिएसपी कुँवरलाई उत्कृष्ट कमाण्डर घोषणा गरी पुरस्कृत गरिएको हो।

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रममा ५१ नं गुल्म बैतडी र डिएसपी कुँवरलाई प्रदेशकै उत्कृष्ट गुल्म र कमाण्डर घोषणा गरी सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस