सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचनका लागि १३ जनाको उम्मेदवारी दर्ता

२०८२ माघ ७, ०२:१७ खबर संवाददाता

डडेल्धुराः आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरा जिल्लामा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार तोकिएको समयअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको हो। यस अवधिमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश अरुण कुमार कोइरालाका अनुसार नेपाली काँग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्रप्रसाद स्नेही र नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह मालले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडक बहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव बिक, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर र नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र राज भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा सुरेन्द्र रावल, गोरख बहादुर ऐर र तिर्थराज उप्रेतीले पनि मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने सबै उम्मेदवार पुरुष रहेका छन्। उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया अघि बढाइने जनाइएको छ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ।

कमेन्ट लोड गर्नुस