मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर
धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ–गाउँमा मतदाता भेटघाटमा व्यस्त छन् । तर, त्यही समयमा बैतडीका मतदाता भने रोजगारीको खोजीमा भारततर्फ पलायन भइरहेका छन् । गएको पुस महिनामा मात्रै बैतडीको झुलाघाट नाकाबाट दुई हजार सर्वसाधारण रोजगारीका लागि भारत गएको तथ्याङ्क छ ।
उम्मेदवार मतदाता रिझाउन गाउँ पसिरहेका बेला पुस १ गतेदेखि माघ ४ गतेसम्म जिल्लाका विभिन्न गाउँबाट एक हजार ३९१ पुरुष र ८५२ महिला गरी जम्मा दुई हजार २४३ जना भारत गएको झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्कमा उल्लेख छ । सीमा नाकाबाट भारत जानेहरूको तथ्याङ्क दैनिक रूपमा संकलन गरिँदै आएको चौकी इन्चार्ज गङ्गाराम टमटाले जानकारी दिए। भारत जानेमध्ये अधिकांश दलित बस्तीका नागरिक रहेका छन् ।
दशरथचन्द नगरपालिका–४ अन्तर्गत तिरगाउँ, बुतखोला र तोलीका करिब दुई सय दलित घरपरिवारमध्ये आधाजति परिवार रोजगारीका लागि भारत गएको दलित अगुवा मदन तिरुवाले बताउनुभयो । पछिल्लो समय बालबच्चासहित परिवारका सबै सदस्य भारत हिँडेपछि कम्तीमा २० वटा घरमा ताला लागेको उनकाे भनाइ छ ।
दशरथचन्द नगरपालिका–४ तिरगाउँका २२ वर्षीय हरिस तिरुवाले चार कोठे घरमा ताला लगाएर बालबच्चासहित रोजगारी खोज्न भारत गएका छन्। उनिसँगै पदम तिरुवा पनि श्रीमती, बालबच्चा र वृद्ध आमाबुवासहित १० जनाको परिवार लिएर भारत गएपछि गाउँ सुनसान बनेको स्थानीय प्रेम बोगटीले बताए।
गाउँमा ज्यामी कामसमेत नपाउँदा आफ्ना छोरा भारत पलायन हुन बाध्य भएको मिस्त्री मदन तिरुवाले पीडा सुनाए। गाउँ नै खाली हुने गरी अधिकांश युवा परिवारसहित भारत गएपछि बस्ती उराठलाग्दो बनेको उनले बताए।
सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश सर्वसाधारण हिउँदको समयमा मौसमी रोजगारीका लागि भारत जाने गरेका छन् । एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा १० वटा स्थानीय तह र ८४ वडा रहेका छन् ।
निर्वाचन तयारी पूरा
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १२९ मतदान स्थलभित्र ‘क’ र ‘ख’ गरी २१४ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो निर्वाचनमा २१० मतदान केन्द्र रहेकोमा यस वर्ष थप गरी २१४ मतदान केन्द्र कायम गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
मतदान स्थलको सुरक्षाका लागि सबै पालिकामा अनुगमन तीव्र पारिएको उहाँले बताउनुभयो । यस निर्वाचनका लागि जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । यो वर्ष छ हजार २१६ मतदाता थपिएका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको प्रशासनले जनाएको छ । -गोरखापत्रबाट सम्पादित अंश