दार्चुलाका करिब ४ हजार भूमिहीन अझै जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा
खलङ्गा: दार्चुला जिल्लाका नौवटै स्थानीय तहमा रहेका तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी तथा विगतमा काम अधुरा र अपुरा रहेका व्यक्तिहरूले अझै जग्गाधनी प्रमाणपुर्जा पाउन बाँकी रहेको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिएका छन्।
उनका अनुसार यसअघि दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ७२ जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकिएको छ। बाँकी रहेका लाभग्राहीलाई प्रमाणपुर्जा वितरण गर्न आवश्यक प्रक्रिया अघि बढिरहेको उनले बताए।
हाल स्थानीय तहहरूलाई आयोगमा प्रविष्ट भएका तथा अझै दर्ता हुन बाँकी निवेदनहरूको तथ्याङ्क माग गरिएको र तथ्याङ्क प्राप्त भएपछि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने तयारी भइरहेको अध्यक्ष धामीले जानकारी दिए।
आयोगले विगतमा काम अधुरा र अपुरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार जना, महाकाली नगरपालिकाका तीन जना अव्यवस्थित बसोवासी तथा चार जना सुकुम्वासीलाई प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारीसमेत गरेको जनाएको छ।
अव्यवस्थित बसोवासीलाई आवश्यक राजस्व चुक्ता गरेपछि र सुकुम्वासीलाई निःशुल्क रूपमा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने व्यवस्था रहेको अध्यक्ष धामीले स्पष्ट पारे।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अनुसार जिल्लामा महाकाली नगरपालिकामा ४३१, शैल्यशिखर नगरपालिकामा ६२८, लेकम गाउँपालिकामा १७३, नौगाड गाउँपालिकामा ३२७, मार्मा गाउँपालिकामा १६८, अपि हिमाल गाउँपालिकामा ६९१, मालिकार्जुन गाउँपालिकामा ९४७, दुहुँ गाउँपालिकामा १६१ र व्यास गाउँपालिकामा २६६ जना भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी रहेका छन्।
स्थानीय तहहरूले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्र रूपमा अघि बढाए जिल्लाका भूमि सम्बन्धी सबै समस्या समाधान गर्न सकिने अध्यक्ष धामीको विश्वास छ। उनले भने, “जिल्लाका सबै अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने हाम्रो लक्ष्य हो, यसका लागि सबै जनप्रतिनिधि र स्थानीय तहको सहकार्य आवश्यक छ।”