सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा राप्रपाका उम्मेदवार चन्द घरदैलो अभियानमा सक्रिय

२०८२ पुष २६, ०१:२८ खबर संवाददाता

बैतडी: आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बैतडीका लागि सिफारिश भएका उम्मेदवार भुपेनबहादुर चन्द घरदैलो अभियानमा सक्रिय भएका छन्।

पार्टीको आन्तरिक अधिवेशनसँगै घरदैलो अभियान सुरु गरिएको बताउँदै चन्दले मतदातासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी दिए। स्थानीयस्तरमा मतदाताका समस्या, अपेक्षा र सुझाव सुन्ने क्रममा आफू व्यस्त रहेको उनको भनाइ छ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला भएकाले बैतडीमा राप्रपाले आफ्नो पुरानो जनाधार पुनः मजबुत बनाउने रणनीति अघि सारेको छ। पूर्व प्रधानमन्त्री चन्दकै छोरा भुपेनबहादुर चन्दलाई चुनावी मैदानमा उतारेर पार्टीले निर्वाचनको तयारी गरिरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।

आईटी इन्जिनियर, पाइलट तथा अभिनेता समेत रहेका चन्दले राजनीतिलाई समाज सेवाको माध्यमका रूपमा लिएको बताए। मतदातालाई भिजनका आधारमा मतदान गर्न आग्रह गर्दै उनले भने, “वर्तमान अवस्थामा कसले काम गर्न सक्छ र कससँग स्पष्ट भिजन छ भन्ने कुरा हेरेर मत दिनुस्। पैसाको पछि नलाग्नुस्।”

पालिका अधिवेशनका क्रममा जिल्लाका १० वटै स्थानीय तहमा पुग्दा राप्रपाको संगठन अघिल्लो समयको तुलनामा विस्तार भएको दाबी गर्दै चन्दले मतदाताले जिम्मेवारी दिएमा इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस