सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

२०८२ पुष २६, १२:२८ खबर संवाददाता

कञ्चनपुर: थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका थारु बस्तीहरू उत्सवमय बनेका छन्। गाउँ–टोलमा बिहानदेखि साँझसम्म चहलपहल बढेको छ, जहाँ पर्वको तयारीले जनजीवनलाई व्यस्त बनाएको छ।

माघीको आगमनसँगै थारु गाउँहरूमा महिला र पुरुष दुवै आ–आफ्नो भूमिकामा सक्रिय देखिन्छन्। कसैले दाउरा सङ्कलन गरिरहेका छन् भने कसैले साल र मालुका पात टिपिरहेका छन्। महिलाहरू घरआँगनमा बसेर दुना–टपरी बनाउन व्यस्त छन्। “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने परम्परा छ, यसले प्रकृतिसँग थारु समुदायको आत्मीय सम्बन्ध देखाउँछ,” कृष्णपुर नगरपालिका–२, वाणिका दुर्गा चौधरीले भने।

माघी पर्वमा थारु समुदायका मौलिक परिकारहरूको विशेष महत्व रहन्छ। ढिक्री, अनदीको भात, सुँगुरको मासु र जाँडलाई माघीका अनिवार्य परिकारका रूपमा लिइन्छ। यी परिकारहरू पातले बनेका दुना–टपरीमै पस्किने चलन रहेको छ। “माघीका लागि अनदी भिजाउने, पकाउने र जाँड राख्ने काममा महिलाहरू व्यस्त छन्,” शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भने, “पुरुषहरू भने सुँगुरको जोहोमा लागेका छौँ।” उनका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने काममा पनि जुटेका छन्।

पर्वको तयारीमा बालबालिकादेखि वृद्धसम्म सहभागी हुँदा गाउँमा सामूहिकताको भावना बलियो बनेको छ। साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थाल्छ। “मघौटा नृत्यको अभ्यासले गाउँ झनै जीवन्त बनेको छ,” शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भने, “युवायुवतीहरू नृत्यको अभ्यासमा छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाइरहेका हुन्छन्।”

माघी पर्वमा विवाहित चेलीबेटीलाई माइती बोलाउने परम्पराअनुसार निम्तो दिने क्रम सुरु भइसकेको छ। पर्वको स्वागतमा कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन्। आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ। गाउँका साझा स्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान सञ्चालन गरिएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिए।

कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र रूपमा अघि बढिरहेको छ। माघीलाई शत्रुता बिर्सेर मित्रता गाँस्ने पर्वका रूपमा लिइन्छ। “पुराना मनमुटाव माघीमै टुङ्ग्याउने, सम्बन्ध सुधार्ने र नयाँ वर्ष सकारात्मक सोचका साथ सुरु गर्ने चलन थारु समाजमा गहिरो छ,” जोनापुर गाउँका बडघर सुरेश चौधरीले भने।

माघी केवल खानपान र मनोरञ्जनको पर्व मात्र नभई थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीक हो। यस पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको गाउँको नयाँ नेतृत्व चयन हो। माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ।
 

कमेन्ट लोड गर्नुस