सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष ओझामाथि दुर्व्यवहारपछि बन्द डडेल्धुरा अस्पतालका सबै सेवा पुनः सञ्चालन

२०८२ पुष २४, ०३:०५ जयन्त सिंह भाट

डडेलधुराः बिहीबार दिउँसोदेखि डडेलधुरा अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा आएका छन् । बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द थिए ।

बिहीबार सरोकारवाला निकायबीच भएको छलफलमा अस्पतालका सबै सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा, डडेलधुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा लगायतको उपस्थिति रहेको थियो।

बैठकले अध्यक्षमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन शंकास्पद गतिविधिहरूका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। 

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरूको उपचारको प्रमुख आधार बनेको डडेल्धुरा अस्पतालमा सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यसहित आफूहरू निरन्तर लागिरहेको उनले बताए। तर पछिल्लो समय प्रमाणबिनाका आरोप लगाउँदै राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा पवित्र स्वास्थ्य संस्थामाथि आक्रमण र दुर्व्यवहार गरिएको घटनाले अस्पतालको संस्थागत विकासमा अवरोध पुगेको उनको भनाई छ। 

‘यदि अस्पतालमा कुनै पनि प्रकारको गल्ती, कमजोरी वा अनियमितता भएको प्रमाणित हुन्छ भने कानुनअनुसार कारबाही भोग्न हामी तयार छौँ। तर निराधार आरोप लगाएर राजनीतिक आडमा स्वास्थ्य संस्थाको गरिमा माथि प्रहार गर्नु दुर्भाग्यपूर्ण हो।’ उनले भने। 

उनले सामाजिक सञ्जाल र मिडियामार्फत तथ्यबिनै आरोप लगाउने प्रवृत्तिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको मनोबल कमजोर बनाएको उल्लेख गरे। ‘यस्ता गतिविधिले कर्मचारीहरूलाई हतोत्साहित बनाएको छ, जसको प्रत्यक्ष असर सेवाग्राहीमाथि पर्छ।’ अध्यक्ष ओझाले भने।

आर्थिक लेनदेन, खरिद, निर्माण कार्य र कोष सञ्चालन नेपाल सरकारको कानुन र अधिकार प्राप्त निकायमार्फत हुने भएकोले विषयमा गलत बुझाइ फैलाउनु उचित नभएको उनको भनाई छ। बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै आफुमाथि भएको दुर्व्यवहारप्रति उनले खेद प्रकट गरेका छन्।   

 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस