एमालेबाट सुदूरपश्चिमका १० जना समानुपातिक उम्मेदवार
धनगढीः नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समेटिएको छ। एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कैलालीका चार जनासहित १० नेतालाई ११० जनाभित्र समेटेको हो।
एमालेको समानुपातिक सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन्। यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन्।
एमालेले कैलालीबाट मात्रै समानुपातिक उम्मेदवारका लागि ५४ जनाको सूची केन्द्रमा पठाएको थियो। सुदूरपश्चिम प्रदेश कमिटीले समानुपातिक सूचीका लागि ९ वटै जिल्लाबाट प्राप्त नामको सूचीलाई छोटो बनाएर केन्द्रीय कमिटीमा पठाएको थियो। सोही सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो।