सुदूर नेपाललाई विश्वसँग जोड्दै

विशेषज्ञ डाक्टरको अन्यत्र पदस्थापनापछि रित्तिदै सुदूरपश्चिमका अस्पताल

२०७६ साउन २५, ०६:५६ नवराज पनेरु

कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ डाक्टर विहिन बन्न थालेका छन्। ९, १० र ११ औं तहका डाक्टरको पदस्थापन भएसंगै सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ विहिन बन्न थालेका हुन्। प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा ९ औँ तहभन्दा माथिका अर्थात विशेषज्ञ डाक्टरहरु रहेकोमा अधिकासं डाक्टरहरुको पदस्थापन प्रदेश बाहिरका अस्पतालमा भएको छ। 

सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जना मात्रै विशेषज्ञ डाक्टरको पदस्थापन हुने सुँची प्रकाशन भएको छ। प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा ११ औँ तहका ३, १० औँ तहका चार र नवौँ तहका ४ जना गरि ११ जना विशेषज्ञ डाक्टर सरकारी दरबन्दीमा कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले समायोजनपछि पदस्थापन गरेसंगै अव तीन जना विशेषज्ञ डाक्टर मात्रै सेती अस्पतालमा बाँकी रहेका छन्। अस्पताका अनुसार ११ औँ तहका डाक्टर हेमराज पाण्डेय, १० औँ तहका खगेन्द्र भट्ट र नवौँ तहका जगदिश जोशीले प्रदेश रोजेका कारण उनीहरु प्रदेशकै अस्पतालमै रहनेछन् भने भदौँमा सेवा निवृत्त हुने बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको छ। चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले सेती अस्पतालमा पनि वार्डहरु नै बन्द हुने अवस्था आईसकेको बताए। करारमा अस्पतालमा कार्यरत ११ औँ तहका डाक्टर अशोक श्रीपाईली, १० औँ तहका शेरवहादुर कमर, नवौँ तहका डाक्टर दिनेश सिवाकोटी, नवौँ तहका होमप्रशाद पन्त र नवौँ तहका सुरेन्द्र बस्नेतको भेरी अस्पतालमा पदस्थापन भएको छ भने १० औँ तहका कपिल गौतमको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रमोद जोशीको कान्ती बाल अस्पतालमा पदस्थापन भएको छ। 

उता महाकाली अस्पतालमा भने तीन जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा दुई जनाको प्रदेश बाहिरका अस्पतालमा पदस्थापन भएको छ। नवौँ तहका शम्भुदक्त जोशीको प्रदेशमै पदस्थापन भएपनि नवौँ तहका हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएकोले उनको पनि अन्यत्र पदस्थापन हुने छ भने १० औँ तहका डाक्टर श्रीकृष्ण भट्टको कान्ती बाल अस्पतालमा पदस्थापन भएको छ। स्थापनाकालदेखि नै भएकै दरबन्दी समेत नपाएको महाकाली अस्पतालले भएका डाक्टरको समेत अन्यत्र पदस्थापन भएपछि सेवा सचालनमै मुस्किल हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए। 

प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पतालमा भने विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सबै रिक्त रहेको छ। अस्पतालमा मेसुको जिम्मेवारी समेत मेडिकल अधिकृतले पाएका छन्। उक्त अस्पताल संघीय सरकारको मातहतमा रहेकोले दरवन्दी अनुसार विशेषज्ञ डाक्टरको पदस्थापन होला भन्ने आशा गरिएको थियो। तर दशौँ तहका डाक्टर बद्री रिजालको मात्रै अस्पतालमा पदस्थापन गरिएको छ भने नवौँ तहका डाक्टर शोभित थापाको पदस्थापन भएपनि उनी असाधारण विदामा छन् भने नवौँ तहका अर्का डाक्टर अमर पौड्याललाई ३० दिने काजमा मात्रै डडेल्धुरा पठाईने छ। अस्पतालका मेसु डाक्टर जितेन्द्र कडेलले आठौँ तहका डाक्टरको पनि पदस्थापन भएपछि सेवा सञ्चालन गर्न नै मुस्किल हुने बताए। 

सेती, महाकाली र डडेल्धुरा अस्पताल बाहेक मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि विशेषज्ञ डाक्टरको दरबन्दी छ। टीकापुर अस्पतालमा कार्यरत १० औँ तहका डाक्टर नरेन्द्र खनालको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएको छ भने मालाखेती अस्पतालका नवौँ तहका डाक्टर शिवराज पनेरुले पनि संघीय सरकार नै रोजेकाले उनको समेत संघीय सरकारको मातहतमा रहेकै अस्पतालमा पदस्थापन हुने देखिएको छ। यद्यपी अहिले नै उनको पदस्थापन भने भएको छैन्। सवै अस्पताल विशेषज्ञ विहिन भएपछि सुदूरपश्चिमवासीले स्वास्थ्य सेवाका लागि झनै परनिर्भर हुनुपर्ने देखिएको छ।

यता प्रदेश सरकारले अस्पतालमा रहेको डाक्टरको पदपुर्तीका लागि बजेट त विनियोजन गरेको छ तर प्रक्रिया अगाडी बढाउन सकेको छैन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगनवहादुर हमालले अर्को विकल्प नहुँदा सम्म यस क्षेत्रबाट अन्यत्र डाक्टर नलैजान स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताए। 

सुदूरपश्चिममा रहेको डडेल्धुरा अस्पताल बाहेक अन्य सबै अस्पताल र स्वास्थ्य चौकीहरु प्रदेश तथा स्थानीय सरकारको मातहतमा राखिएको छ। यस क्षेत्रमा कार्यरत डाक्टरको समायोजन संघीय सरकारमा गरि अस्पताल सबै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेपछि सुदूरपश्चिमका अस्पतालहरु डाक्टर विहिन हुने अवस्थामा पुगको हुन्। अव आठौँ तहको पदस्थापन पनि भएपछि सामान्य सेवाका लागि पनि अन्यत्र धाउनुपर्ने बाध्यता आउन सक्ने सम्भावना बढेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस