सुदूरपश्चिममा लागुऔषध नियन्त्रणको लागि प्रदेशस्तरीय अभियान शुरु
धनगढी: सुदूरपश्चिम प्रदेशमा लागुऔषधको समस्या वर्षेनि बढ्दै गएको छ। खुला सीमा नाकाको फाइदा उठाउँदै कैलाली–कञ्चनपुर हुँदै पहाडी जिल्लासम्म लागुपदार्थको तस्करी बढेपछि बझाङ, बाजुरा, दार्चुला लगायतका जिल्लासमेत यसको प्रभावबाट अछुतो छैनन्।
प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७-७८ देखि २०८१-८२ सम्म हरेक वर्ष पक्राउ र मुद्दा संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ। २०७७-७८ मा ३९२ जनाबाट सुरु भएको यो संख्या २०७९-८० मा ८५६ जना पुग्यो भने २०८१-८२ मा १ हजार ४३ जना पक्राउ परेका छन्। बरामद हुने गाँजा, चरेस र हेरोइनको मात्रा पनि धेरै वर्षमा तीव्र वृद्धि भएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्र १ सय ५९ जना पक्राउ परिसकेका छन्, जसमा सबैभन्दा धेरै कैलालीबाट पक्राउ भएका छन्।
यो समस्या बढ्दैै गएपछि प्रदेशभर जागरण, नीति संवाद र नियन्त्रणका उपाय अघि बढाउन युवा परिषद्ले कैलालीको मोहन्याल माध्यमिक विद्यालयबाट प्रदेशस्तरीय अभियान सुरु गरेको छ। उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले लागुऔषधलाई प्रदेशको ठूलो सामाजिक समस्या भन्दै सामूहिक प्रयासबिना समाधान सम्भव नभएको बताइन्।
सरोकारवाला निकायका प्रतिनिधिहरूले युवालाई लागुऔषधबाट जोगाउन परिवार, विद्यालय, समुदाय र प्रदेश सरकार सबैको भूमिकाको आवश्यकता रहेको धारणा राखे। केही सहभागीहरूले भन्दा सेवनकर्तामाथि होइन, कारोबारी र तस्करमाथि कडा कारबाही हुनुपर्ने सुझाव पनि दिए।
अभियानअन्तर्गत प्रदेशका नौवटै जिल्लामा पुगेर अन्तरक्रिया, जनचेतना कार्यक्रम र नीतिगत छलफल निरन्तर चलाइने परिषद्ले जनाएको छ।