सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐन संशोधन गरेरै भए पनि गेटामा विश्वविद्यालय सञ्चालन गर्न माग

२०८२ मंसिर २३, ०३:३२ नारायण अवस्थी

धनगढीः धनगढीका नगर प्रमुख गोपाल हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेका छन्। नगर प्रमुख हमालले सोमवार सङ्घीय अर्थमन्त्री रामेश्वर खनाललाई विश्वविद्यालय सञ्चालन गर्न माग गरेका हुन्।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी पुगेका अर्थमन्त्री खनाल समक्ष नगर प्रमुख हमालले सरकारले शीघ्र विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका हुन्।

नगर प्रमुख हमालले ऐन संशोधन गरेर भए पनि गेटामा विश्विवद्यालय सञ्चालन गर्न सके वर्तमान सरकारको सम्झन लायक काम हुने नगर प्रमुख हमालले बताएका छन्। 'गेटामा निर्माण भएका संरचना देखेर सत्तामा बसेकोलाई गाली गर्न मन लाग्छ।अहिलेको सरकारले ऐन र कार्यविधि संशोधन गर्नुपर्‍यो। मेडिकल कलेज सञ्चालन गरिदिनु पर्‍यो ,' नगर प्रमुख हमालले भने, 'समग्र सुदूरपश्चिमलाई सम्बोधन हुने मागमा ध्यानाकर्षण गर्न चाहे।'

सोमवार धनगढीमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न वर्तमान सरकार सकारात्मक रहेको बताए। उनले भौतिक संरचना निर्माण सम्पन्न भएर पनि विश्वविद्यालय सञ्चालनमा नआउनु दुःखद भएको बताए।

'विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियुक्ति तथा प्रक्रिया तत्काल अघि बढाइने छ। नीति, कार्यविधि र नियम परिवर्तन गरेर भए पनि विश्वविद्यालय चाँडो सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने, ' यही सरकारको पालामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयसँग पहल गर्ने वाचा गर्छु।'

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस