सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

२०७६ साउन २३, ०२:२६ खबर संवाददाता

श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीले बिहीबारदेखि अनौपचारिक प्रशिक्षण सुरु गरेको छ। औपचारिक रुपमा प्रशिक्षण भने सोमबारदेखि मात्रै सुरु हुने बताइएको छ। प्रतियोगिताका लागि १ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा प्रशिक्षक विनोद दासले काठमाण्डौमा उपलब्ध खेलाडी समेटेर अनौपचारिक प्रशिक्षण सुरु गरेका हुन्। बिहीबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको पहिलो दिन १६ जना खेलाडी उपस्थित छन्।

सोमबारदेखि अघिल्लो महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइनेछ। नेपालले इस्टर्न रिजन च्याम्पियनको हैसियतमा एसिया कप खेल्न पाउने भएको हो। प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, कुवेत, श्रीलंका र यूएई खेल्नेछन्।

सेप्टेम्बर ५ देखि ११ सम्म एसीसी यू–१९ एसिया कप क्रिकेट आयोजना हुँदैछ। अन्तिम तयारीका लागि भारतमा प्रशिक्षण गर्ने नेपालको प्रस्ताव एसीसीले अस्वीकृत गरिदिएको थियो। नेपाली टोलीले प्रतियोगिताअघि १० दिन श्रीलंकामा प्रशिक्षण गर्नेछ। त्यसबीचमा ३ अभ्यास खेल तय भएको प्रशिक्षक दासले जानकारी दिए।

कमेन्ट लोड गर्नुस