धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी: गृहमन्त्री र मुख्यमन्त्रीले के-के भने?
धनगढी: गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन्। मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन्।
गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन्। "यो सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने हो। सरकारले पाएको म्यान्डेड पनि चुनाव गर्नु नै हो,' उनले भने, 'निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा हुन्छ।'
गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए। उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएका छन्। 'यो सरकार सबैको साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ। कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन,' उनले भने, "निर्वाचनको वातावरण निर्माण गर्न प्रदेश सरकारको पनि उत्तिकै भूमिका रहेको छ।'
गृहमन्त्री अर्यालले राज्यका सबै संयन्त्र निर्वाचनको वातावरण निर्माण गर्न क्रियासिल रहेको बताएका छन्। सुरक्षा अवस्थालाई विश्लेषण गरी आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका छन्।
गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुकलाई ठिक बाटोमा हिँडाउन निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। उनले भने, 'फागुन २१ गतेको निर्वाचन हुनैपर्छ। सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ।'
मुख्यमन्त्री शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार पूर्णरूपले प्रतिबद्ध रहेको गर्ने बताएका छन्।
गोष्ठीमा बोल्दै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले निर्वाचनका लागि भयरहित वातावरण बन्न नसकेको बताएका छन्। उनले पार्टीका गतिविधिमा अवरोध भइरहेको बताएका छन्। "निर्वाचनका लागि भयरहित वातावरण बन्न सकेको छैन। पार्टीका गतिविधिमा अवरोध भइरहेको छ,' उनले भने, 'गृह मन्त्रालयले राजनीतिक दलहरूसँग संवाद गर्नु जरुरी छ।'
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङ्ग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत सहभागी छन्।
गोष्ठीमा प्रदेशको समग्र सुरक्षाको अवस्था बारे छलफल हुनेछ भने फागुन २१ गते हुने आम निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ।