सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दुर्घटनाको दोषी चालक कि सडकको दुरवस्था र थोत्रा सवारी ?

फाईल फोटो
फाईल फोटो
२०७६ साउन २२, ०३:१६ नवराज पनेरु

सुदूरपश्चिममा बढ्दै गएका सवारी दुर्घटनाको सम्पूर्ण जिम्मेवारी चालकलाई सुम्पिएर पन्छिने प्रयास भएको छ। प्रदेशमा भएका सबै दुर्घटनामा चालककै कमजोरी भएको भन्दै सम्वन्धित निकायहरु पन्छिन थालेका हुन्। बढ्दो सवारी दुर्घटनाका कारण यात्रा गर्नै डर लाग्ने अवस्था आईसक्दा समेत अहिले सम्म दुर्घटनाको मुख्य कारणहरुको खोजी भने हुन नसकेको हो। कुनै पनि सवारी दुर्घटना भए त्यस्मा चालकको कमजोरी देखाएर चालकलाई पक्राउ गर्ने र फाईल बन्द गर्ने परिपाटी नै बनिसकेको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक केदार रज्यौलेले सवारी दुर्घटनामा सबैभन्दा बढि दोषी चालक नै भएको दावी गरे। ‘सुदूरपश्चिममा भएका साना–ठूला सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ,’ उनले भने, ‘चालकले मात्रै सावधानी अपनाउने हो भने दुर्घटनाको सङख्याले त्यस्ले पुगाउने क्षती ह्वात्तै घटरे आउँछ।’सडकको दुरवस्थाका कारण एक प्रतिशत मात्रै दुर्घटना भएको उनको दावी छ। ‘ट्राफिकको कमजोरी, सडक अवस्था, थोत्रा सवारी साधनका कारणले नै दुर्घटना भएको हो भन्न सकिने अवस्था नै छैन्,’ उनले अगाडी थपे, ‘सडक अवस्था, थोत्रा सवारी साधनले दुर्घटना भएपनि त्यस्मा समेच चालकको लापरवाही देखिन्छ।’

यातायात व्यवसायीहरुले भने चालकलाई दोषी बनाएर सडकको दुरवस्था, थोत्रा सवारी साधन र असुलीमा सक्रिय ट्राफिक प्रहरी बारे दुर्घटनापछि अध्ययन नै नहुने समस्या रहेको बताएका छन्। सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले दुर्घटनाका कारणहरुको खोजी गर्नुको सट्टा सम्वन्धित निकायहरु भने सम्पूर्ण दोष चालकलाई लगाएर जिम्मेवारीबाट पन्छिन खोज्नु गलत भएको दावी गरे। ‘पछिल्लो १० बर्षमा सुदूरपश्चिममा तीन गुणा बढि सवारी साधन बढेका छन्’ उनले भने, ‘तर अहिले सम्म राजमार्गको चौडाई पुरानै छ, लामो दूरी तय गर्न निर्माण गरिएका राजमार्ग एकातिर साँघुरा छन् भने अर्कोतिर तिनको नियमित मर्मत–संभार नहुँदा धराप जस्ता भएका छन्।’

अनुमती नभएका सडकमा समेत सार्वजनिक सवारी गुड्दा सम्वन्धित निकाय मौन रहेको छ। यातायात कार्यालयहरुले पनि सवारी साधनको अनुगमनमा कडाइ गर्न सकेका छैनन्। जस्ले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लामा थोत्रा गाडीहरु निर्वाध रुपमा गुडिरहेका छन्। अर्को ठुलो समस्या क्षमताभन्दा बढी यात्रु बोक्नु पनि हो। तर सो समस्या नियन्त्रणका लागि ठाउँ–ठाउँमा रहेको ट्राफिक प्रहरीहरु असुलीमा सक्रिय हुने र क्षमता भन्दा बढि यात्रु बोक्न दिने गरेका छन्।

सुदूरपश्चिमभरी गत आर्थिक बर्ष २०७५/०७६ मा भएका २ सय ३४ वटा सवारी दुर्घटनामा परी २ सय २३ जनाले ज्यान गुमाउनु परेको थियो। यस्तै ४ सय ३४ जना घाईते भएका थिए। यो तथ्याङकलाई हेर्दा सुदूरपश्चिममा सडक यात्रा निकै जोखिमपूर्ण रहेको पुष्टि हुन्छ। अहिले स्थानीय सरकार आएपछि कुनै पनि मापदण्ड नपुगाई सडक निर्माण गर्ने र सार्वजनिक सवारी साधन चलाउने होड नै चलेको छ। डिजायन, स्टीमेट लगायतका प्राविधिक मुल्याङकन नगरी बनाईएका सडक ज्यानमारा बन्दै गएका छन्। दुर्घटनाको सबै दोष चालकलाई दिएर पन्छिनु भन्दा निष्पक्ष छानबीन गराउने परिपाटी बसालेमा अहिलेको परिस्थितिमा टड्कारो सुधार आउने सम्भावना रहेको धेरैको तर्क छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस