अछामका एमाले नेता साउँद नेपाली कम्युनिस्ट पार्टीमा लागे
धनगढीः नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउँदले पार्टी त्यागेका छन्। एमाले छोडेर उनी नेपाली कम्युनिस्ट पार्टीमा लागेका हुन्।
पार्टी प्रवेशपछि साउँदले कम्युनिस्ट आन्दोलनको एकताका लागि नेपाली कम्युनिस्ट पार्टीमा लागेको बताए । साउँद एमालेमा २०५० देखि २०५४ सम्म उप-सचिव तथा त्यसपछि दुईपटक जिल्ला सचिव रहेका थिए। उनी अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए।
यस्तै एमाले कैलालीका सचिवालय सदस्य दीपक रावल र जिल्ला कमिटी सदस्य जनक खड्काले पनि पार्टी परित्याग गरेका छन्। एमालेबाट संगठित सदस्यता गायब पारिएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन्।
रावल र खड्काले आज धनगढीमा हुने नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा गएर उक्त पार्टी प्रवेश गर्ने बताइएको छ।