रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित
बुटवल: सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज फेरि स्थगित भएको छ।
उनीहरूको मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा तोकिएको थियो। बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त भई मुद्दा लड्न पाउनु पर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका लामिछानेका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न माग गरेपछि सुनुवाइ सारिएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
यसअघि अघिल्लो बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेकाले बुटवल इजलासको सुनुवाइ स्थगित गरिएको थियो। कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोगको मिसिल माग गरेको थियो तर सक्कल मिसिल नआएकाले तोकिएको सुनुवाइहरू बारम्बार सारिँदै आएका छन्।
यसअघि कात्तिक २० गते पनि सुरु मिसिल मगाउने आदेश भएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भइसकेको छ। न्यायाधीश राई र अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकोले एउटैसाथ राख्ने आदेश पहिले नै गरिसकेको थियो।
बिगो बुझेर थुनामुक्त हुन माग गर्दा उच्च अदालत बुटवलले लामिछानेसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो। यसअघि जिल्ला अदालतले लामिछानेको बिगो दाखिला गरेर छुटकारा पाउन माग गरेको निवेदन साउन २६ गते अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछाने र जोशी दुवैले आफ्नो एक–एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत पेस गरेका छन् तर व्यक्तिगत बिगो कति भन्ने स्पष्ट नहुँदा दुवैलाई थुनामै राख्ने निर्णय भएको हो।
हाल लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा छन्। लामिछानेले आफू सहकारीको सदस्य वा ऋणी नभएको र रकम नलिएको दाबी दोहोर्याउँदै आएका छन्।