सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले विकेन्द्रीकरणको अभ्यास गर्दै, वडामै आर्थिक अख्तियारी

२०८२ मंसिर ११, ११:५९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले विकेन्द्रीकरणको अभ्यास थालेको छ।

उपमहानगरले वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेको छ। धनगढीमा आर्थिक वर्ष २०८०/८१ बाट वडाको बजेट वडाबाटै खर्च गर्न थालिएको हो।

वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेपछि वडाको बजेट वडाबाटै खर्च हुने थालेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीका १९ वटै वडामा वडा सचिवमा अधिकृत स्तरको कर्मचारी खटाइएको छ। यस्तै खाता सञ्चालन गर्न र भुक्तानी दिन सबै वडामा लेखापाल पठाइएको छ।

वडालाई नै  खाता सञ्चालनको अधिकार दिएपछि वडाबाट सञ्चालित हुने योजनाको सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउनुपर्ने बाध्यता हटेको छ। थोरै रकमको कामको सम्झौता गर्न र भुक्तानीका लागि नगरपालिका आउने बाध्यता हट्दा नगरवासीलाई सहज भएको नगर प्रमुख गोपाल हमालले बताए।

'धनगढीमा वडाबाटै खाता सञ्चालन गर्न थालेको तीन आर्थिक वर्ष भयो। वडाबाटै खाता सञ्चालन गर्दा वडावासीले वडाबाट सञ्चालन हुने विकास निर्माणका कामका लागि सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउने झन्झट हटेको छ,' उनले भने, 'नगरपालिकाले वडामै आर्थिक अधिकार दिँदा वडावासीलाई वडाबाट सञ्चालित विकास निर्माणका कामको भुक्तानी लिन समय बचत हुने तथा यातायातमा हुने खर्च बचेको महसुस गरेका छौँ।'

धनगढीले वडाबाटै वडाको बजेट खर्च गर्न सहज होस् भनेर खाता सञ्चालन गरिएको जनाएको छ। योजनाको अनुगमन गर्न हरेक वडामा प्राविधिक कर्मचारीसेमत खटाइएको छ। जसले गर्दा वडाले छनोट गरेका योजना वडाबाटै काम गराउन सहज भएको धनगढी-३ का वडा अधयक्ष राजबहादुर ऐरले बताए।

उनले वडाबाटै योजनाको सम्झौता गर्ने र भुक्तानी दिने व्यवस्था गरिँदा वडा कार्यालयहरूले संस्थागत जिम्मेवारी पाएको अनुभूति गरेको बताए। 'वडामा आर्थिक अधिकार आउँदा वडा कार्यालयहरूले संस्थागत जिम्मेवारी पाएको अनुभव भएको छ। वडाको बजेट परिचालन गरेर छिटो काम सम्पन्न गर्न सहज भएको छ,' उनले भने, 'हामीले वडामै बजेट कार्यान्वयन गर्ने अधिकार मिलेकाले बजेट कार्यान्वयनको अवस्था थाहा पाउन र समयमै योजना फर्छ्यौट गर्न सजिलो भएको छ।'

आर्थिक अधिकार विकेन्द्रीकरण गरिँदा वडाहरूलाई समयमै योजना कार्यान्वयन गर्न, कामको मूल्याङ्कन गर्न र नयाँ आर्थिक वर्षका लागि योजना तय गर्न सहज भएको वडा अध्यक्ष ऐरले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस