सुदूर नेपाललाई विश्वसँग जोड्दै

अचेल सम्बन्धहरु

२०७६ साउन २१, ०६:४७

अचेल सम्बन्धहरु कोकाकोला खाए पछिका डकार भएका छन् -मुखबाट खाएर,
नाकबाट ठुस्स निक्लिने ।
अचेल सम्बन्धहरु बासी भात पछिको चाकबाट फालिने झाडा भएका छन् ,
अचेल सम्बन्धहरु झरी सकिए पछिका पानीका बेतुके बाछिटा भएका छन्,
अचेल सम्बन्धहर जति सजाउदा पनि आफ्ना नहुने भाडाका घर भएका छन् ।

अचेल सम्बन्धहरु चकलेट, चाउचाउ, चाउमिन र चम्चा भएका छन्-एकसङ्ग अर्काको साइनो जस्तै,
अचेल सम्बन्ध हिरोईनले फेरिरहने लत्ता भा`को छ-एक मिनेटको एक्टिङमा एक करोडको लेहङ्गा ।

खासगरी सम्बन्ध अचेल आयातीत जहरे तरकारीसङ्ग छ,
माननीयहुँदै बेचिएको सम्माननीयसङ्ग छ,
टल्किएर पखालिएका भाडाहरुको सम्बन्ध बिदेशीएका युवाहरुसङ्ग छ,
हस्तरेखा मेटिएका बाझा हातहरुसङ्ग छ,
निधारमा परेको खोपिल्टोको सम्बन्ध चुडिनै लागेको दाम्लोसङ्ग छ ।

खासमा सम्बन्ध,
बेचिनलाई सजिएर ठिक्क परेकि वेश्याको सम्बन्ध चार कोठेरीसङ्ग छ,
रक्सीलाई ठिक्क हालिने पानीसङ्ग छ,
हिजडाहरुले हातले बजाउने बम्फुस्के तालीसङ्ग छ,
सम्बन्ध गल्लीका फाल्तु केटाकेटीहरुले गर्ने गालीसङ्ग छ ।

ब्वाईफ्रेन्डको गर्लफ्रेन्डसङ्ग छ,
फेरि डिभोर्स पतीको सम्बन्ध पुरानै पत्नीसङ्ग छ,
होटेलको होटेल्नीसङ्ग छ,
रेस्टुरेन्ट कि रिसेप्सनिस्टसङ्ग छ,
कार्यालयकि सहयोगीसङ्ग छ,
अचेल सम्बन्ध बाइकमा लिफ्ट मागेकी सोल्टिनीसङ्ग छ यार ।

अचेल सम्बन्धमा निखारपन धेरै देख्छु,
अचेल सम्बन्ध फेस्बुकका फोटाहरुमा देख्छु,
सम्बन्ध अचेल ट्विटरका ट्विटमा देख्छु,
चटकेहरुका टिकटके भिडियोसङ्ग देख्छु,
देखिन्छन् त सिर्फ डेटिङ गएकी युवतिले बोक्ने हेल्मेटसङ्ग देख्छु ।

अचेल सम्बन्धकाधमा डुलाउदै खेतबारीसङ्गै गर्ने हलो,
झोला बोक्दा बोक्दै डामबसेको काध,
मास्टरको कुटाई खान नमानेका हात,
शरीरको भन्दा माटोको गन्ध आउने धर्तिसङ्ग
छैन,
किन उहीँ धर्ती चिरी निक्लिएको वृक्षसङ्ग ?
खोइ किन सम्बन्ध छैन अचेल ?

अचेल सम्बन्ध
एकसरो टालटुल गरि ज्यान पोतेकी,
छाला भन्दा नाडीनसा बढ्ता देखिएकी,
बिन्दन्तका गिजा देखिने
भयले खित्का छोडेर हास्न डराएकी,
दुध सुकेर छातिमै टासिएकी,
चाउरिएर निखारिएकी,
राेैँ झुम्म पारेकि
फुलेर मुर्झाउन ला`कि,
दुबै पैतालाका कुर्कुचा च्यातिएकी,
नौ महिना पेटमा र
दशधारा दुध चुसाएकी,
रजस्वला सुकेकी,
थारी आमासँग
अचेल सम्बन्ध छैन ।

अचेल
क बाट कर्म दिने हुँदै
ख बाट खरानीमा मिल्ने जीउ हो भन्ने सिकाउने बा`सङ्ग सम्बन्ध छैन,
अचेल त्यही वीर्यशालीसङ्ग सम्बन्ध छैन ।।

कवि सन्तोष जङ्ग बोगटी बाजुरामा हेल्थ असिस्टेन्ट पदमा कार्यरत छन्।  

कमेन्ट लोड गर्नुस