सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहिद गौरवका बुवाको प्रश्न 'गोली हान्नेलाई कहिले कारबाही हुन्छ?'

२०८२ मंसिर ७, ०२:३६ नारायण अवस्थी

धनगढीः गत भदौ २३ गते भएको जेन्जी आन्दोलनमा धनगढी-५ तारानगरका गौरव जोशीको ज्यान गयो। अध्ययन गरेर कोठमा फर्कने क्रममा आन्दोलनमा सहभागी भएका जोशीलाई टाउकोमा गोली लागेको थियो।

मुलुकको सत्ता नै परिवर्तन गर्ने गरी जेन्जी आन्दोलन भएको दुई महिना बितिसकेको छ । तर बुढेसकालको एक्लो सहारा गुमाएका धनगढीका जोशी परिवारको आँसु अझै रोकिएको छैन। छोरा गुमाएको पीडा त यो परिवारलाई छँदै छ , गोली हान्न लगाउनेलाई अहिलेसम्म कारबाही नहुँदा थप चिन्ता बल्झिएको छ । 

घरको एक मात्रै छोरा गुमाएपछि कैलालीको धनगढी उपमहानगरपालिका–५, तारानगरमा रहेको जोशी निवास आजकल सुनसान छ । घरमा रहेका वासुदेवका चार जना परिवार गौरवलाई सम्झेर टोलाइरहन्छन् । ‘हाम्रा छोराछोरीको मूल्य १५ लाख रुपियाँ हो त? रुपियाँ होइन हामीलाई न्याय चाहिएको छ ।’ जेन्जी सहिद गौरव जोशीका ७६ वर्षीय वृद्ध बुवा वासुदेव जोशीले आँसु झार्दै भने। 

बलिन्द्र आँसु बगाउँदै र भक्कानिदै गौरवका बुवाले भने, 'धनगढीको ऐश्वर्य क्याम्पसमा विज्ञान विषयमा ७६ प्रतिशत अङ्क प्राप्त गरेर पास भएपछि छोरालाई इन्जिनियर पढाउने मेरो चाहना थियो। इन्जिनियर पढाउन १४/१५ लाख कहाँबाट जुटाउनुहुन्छ भनेर विदेश जाने तयारीमा तीन वर्ष बिताएको छोरो देशको लागि सहिद बन्यो। 

जोशीका अनुसार विज्ञान सङ्कायबाट कक्षा १२ पास गरिसकेपछि २३ वर्षीय गौरव विदेश जाने सपना बोकेर काठमाडौँ पसेका हुन्। तीन वर्षदेखि उनले बेलायत जाने तयारी गरिरहेका थिए तर भिसा लागेको थिएन। उनले भने, 'भिसा नलाग्दा छोरा मानसिक रुपले विक्षिप्त हुन्छ कि भन्ने हामीलाई डर थियो, तर जेन्जी आन्दोलनमा सहिद बनेर हामीलाई सहिदको परिभाषा दिएर गयो ।' 

भदौ २३ गते काठमाडौँ आन्दोलनका क्रममा माइकमा बोल्दाबोल्दै गौरवलाई गोली हानिएको थियो । टाउकैमा गोली हानेर हत्या गर्नेलाई सिधै कारबाही हुनुपर्नेमा अहिलेसम्म सरकार चुप लागेर बसेकाले आफूहरूले न्याय नपाएको महसुस भएको गौरवका पिता वासुदेवको भनाइ छ । सरकारले सहयोग स्वरूप १५ लाख रुपियाँ दिए पनि त्यो रुपियाँले जेन्जी सहिद परिवारलाई न्याय नमिल्ने जोशीको भनाइ छ ।

जोशीले अगाडि भने, 'रुपियाँ दिएर न्याय हुन्छ भन्ने कुरा सरकारले सोचेको हो भने त्यो सरासर गलत छर  छोरा मार्नेको टाउकोमा गोली हानेर हामी पनि १५ लाख फिर्ता गर्न तयार छौँ । हामीलाई न्याय चाहिएको हो । दोषी जो भए पनि कारबाही हुनैपर्छ । नेता भनेर छुट दिन मिल्दैन।'

जोशी परिवारको आर्थिक अवस्था कमजोर
सहिद गौरव जोशीको परिवारको जग्गा जमिन र आय स्रोत केही छैन। बैतडीको दोगडाकेदार- १ भाद्रा गाउँबाट गौरवाका बुवा वासुदेव २०३२ सालमा धनगढी झरेका थिए। धनगढी-५ तारानगरमा घरबासमा चारकोठे पक्की घर छ । जोशी परिवारको नाममा सम्पत्तिको नाममा त्यही घर मात्रै छ। 

गौरवका बुवाले २०३२ सालदेखि २०४२ सम्म वन कार्यालयमा अस्थायी कर्मचारीका रूपमा काम गरेका थिए । त्यो बेला पुनर्वास कम्पनी अन्तर्गत बस्ती बसाउन रुख कटानका लागि वनले कर्मचारी राखेको थियो । त्यहिबेला १० वर्ष जागिर गरेको जोशीले बताए। 'दस वर्ष अस्थायी कर्मचारी भएर काम गरेँ, रुख कटानको काम सकिएपछि हाम्रो जागिर पनि सकियो । त्यसपछि कोठा भाडामा लगाएर हुने आम्दानीबाट घर खर्च चलाउँदै आएको थिएँ,' वासुदेव जोशीले भने।

विदेश गएर कमाउँछु र पाल्छु भन्ने छोरा पनि सहिद भएपछि जोशी परिवारको भविष्य अनिश्चत बनेको छ। गौरव जोशीका दुई आमा र दुई दिदीबहिनी छन् । वासुदेवकी जेठी श्रीमतीबाट एक छोरीको मात्रै जन्म भएपछि थप सन्तानका लागि उनले कान्छी श्रीमती भित्र्याएका थिए । कान्छी श्रीमती मायाबाट छोरी आयशा र गौरवको जन्म भएको जोशीको भनाइ छ । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी आयशा एयर होस्टेज अध्ययन पूरा गरेर कामको खोजीमा छिन् ।

जीवनको उत्तरार्धमा पुगेका वासुदेवले जीवन निर्वाह कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए। परिवारमा चार जना सदस्य छन् आम्दानीको स्रोत केही नहुँदा उनलाई चिन्ताले सताउने गरेको छ। घरमा कमाउने कोही नरहेका कारण सरकारले पेन्सनको व्यवस्था गरे जीवन निर्वाह गर्न समज हुने भनाइ जोशीको छ।

उनले भक्कानिदै भने, 'सम्पत्तिको नाममा यही घर मात्रै छ । छोरीको विवाह मैले यही घर बेचेर गर्नु पर्छ । त्यसपछि हामी कहाँ जाने?'

गौरव जोशीका आमाबुले छोरा गुमाएको पीडा कम गर्न  छोराको साहदतलाई स्मरण गर्ने गरेका छन्। मुलुकमा भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने आन्दोलनमा छोराले साहदत प्राप्त गरेकोमा जोशी दम्पतीलाई गर्व लाग्ने गरेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र वेथितिको अन्त्यका लागि छोराले वीरगति प्राप्त गरेको परिवारको बुझाइ छ ।

एक दिनमै पूरै देश जल्ने गरी भएको आन्दोलनबाट नेताहरूले पाठ सिक्नुपर्ने वासुदेवको बुझाइ छ। यत्रो घटनापछि पनि नेता सुध्रिनुपर्नेमा झन डुक्रिन थालेको प्रति वासुदेवले खेद प्रकट गरेका छन्।

उनले भने,  देशमा व्याप्त वेथितिले गर्दा एक न एक दिन यस्तो विस्फोट हुन्छ भन्ने लाग्थ्यो । यति चाँडो नै यस्तफ होला भन्ने लागेको थिएन। वेथितिको कहरमा मेरो छोराले संसार छोडेर गयो। अब यस्तो पीडा कुनै आमाबालाई नहोस् भन्ने कामना छ। 'मेरो छोरा गौरवले पनि देशका ज्यानको आहुति दियो। ७६ परिवारले हाम्रो जस्तै पीडा भोग्नु परेको छ। यस्तो नियति अब कसैले भोग्नु नपरोस् भन्ने कामना छ,' वासुदेवले आँसु पुछ्दै भने। 

जेन्जी आन्दोलनको मर्म अनुरूप सरकारले काम गर्नुपर्ने वासुदेवको भनाइ छ। जेन्जी आन्दोलनमा युवाको ज्यान लिने अवस्था निर्माण गर्ने नेताहरूलाई सरकारले कारबाही गर्नुपर्ने जोशीको भनाइ छ।

सरकारले गोली हान्ने र हान्न लगाउनेलाई कहिले कारबाही गर्छ? भन्ने प्रश्न जोशीले गरेका छन्। उनले पुराना नेताहरूलाई पाखा लगाउनुपर्ने मत राखेका छन्। जोशीले पुराना नेतालाई सत्तामा आउनबाट रोक्नुपर्ने बताएका छन्।

अबको चुनावमा पुरना नेताहरूलाई विजय गराउनु हुन्न। मतदानबाटै उनीहरूलाई रोक्नुपर्ने जोशीको भनाइ छ। 'अब हुने चुनावमा फेरि पनि तिनै पुरानै नेता जिते भने देश बन्दैन। देश छोडेर हामी सबै गए हुन्छ ।' उनले धनगढीको जेन्जी मार्गमा छोरा गौरवको सालिक निर्माणका लागि जग्गा उपलब्ध गराउन धनगढी उपमहानगरपालिकासँग मागसमेत गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस