फलफूल तथा तरकारीमा विषादीको प्रयोग बढ्योः करिब ३८ सय नमुनामध्ये ४० मा अत्यधिक विषादी!
धनगढीः विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियाले गत वर्ष दुई हजार ७१७ तरकारी तथा फलफूलको नमुना संकलन गरेर परीक्षण गरेको छ। गत वर्ष गरिएको परीक्षणमा २९ नमुनामा अत्यधिक विषादी प्रयोग भएको पाइएको हो।
गत वर्ष ९ वटा तरकारी र फलफूलका नमुनामा ३५-४५ प्रतिशत विषादीको अवशेष फेला परेको थियो भने २० नमुनामा अत्यधिक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने नतिजा निस्केको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले बताए।
अत्तरियास्थित प्रयोगशालाले कैलाली, कञ्चनपुर, भारत तथा सुदूरपश्चिम र अन्य प्रदेशका विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको नमुना संकलन गरेर परिक्षण गर्दै आएको छ। प्रयोगशालाको दैनिक परीक्षण क्षमता एक सय नमुना भए पनि हाल दैनिक दस नुमना मात्रै परीक्षण हुने गरेको छ।
जनशक्ति र किट अभावले दैनिक दस नमुना मात्रै परीक्षण हुने गरेको नायब प्राविधिक सहायक भट्टले बताए। 'प्रयोगशालाको क्षमता दैनिक एक सय नमुना परीक्षण गर्ने हो तर जनशक्ति र किटको उपलब्धता कम भएकाले दैनिक दस नमुना परीक्षण हुने गरेको छ,' उनले भने, 'अत्तरिया कृषि उपज बजार तथा लोटस गल्लीको कृषि बजारबाट नमुना संकलन हुने गरेको छ। हामीले कैलाली र कञ्चनपुरमा किसानको बारीमै गएर पनि नमुना संकलन गर्ने गरेका छौँ।'
गत वर्षको परीक्षणमा तरकारीका १८ तथा फलफूलका दुई नमुना खान अयोग्य पाइएका हुन् भने तरकारीका सात तथा फलफूलका दुई नमुनामा तोकिएभन्दा बढी विषादीको मात्रा पाइएको प्रयोगशालाको तथ्याङ्कले देखाएको छ।
गत वर्ष गरिएको परीक्षणमा बन्दा काउली, लौकी, टमाटर, तोरीको हरियो साग, सिमी, तितेकरेला, मुला, तुल्सी पत्ता उपभोग गर्न नमिल्ने गरी अत्यधिक विषादी भेटिएको प्रयोगशालाले जनाएको छ।
यस्तै, फूल काउली, खुर्सानी, आलु, हरियो प्याज केरा र सुन्तलामा पनि तोकिए भन्दा बढी विषादीको अवशेष फेला परेको तथ्याङ्कले देखाएको छ।
चार महिनामा करिब एघार सय नमुना परीक्षण
अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले चालु आर्थिक वर्षको चार महिनामा एक हजार ६६ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गरेको छ।
यो वर्ष कञ्चनपुरको सबैभन्दा बढी २९७ नमुना परीक्षण गरिएको छ भने बैतडीको २२२ नमुना परीक्षण भएको प्रयोगशालाले जनाएको छ। यस्तै, कैलालीको १९१, डडेल्धुराको ११८, दाङको ९३, सल्यानको ६५, रोल्पाको २३, भारतको २१, डोटीको ११, बझाङको ८ तथा बाँके, जुम्ला, प्युठान र रोल्पाको एक/एक नमुना परीक्षण भएको प्रयोगशालाले जनाएको छ।
चालु आर्थिक वर्षमा ८ वटा फलफूल र तरकारीका नमुनामा अत्यधिक विषादी प्रयोग भएको भेटियो भने तीन वटा नमुनामा विषादीको अवशेष ३५ प्रतिशतभन्दा बढी फेला परेको नायब प्राविधिक सहायक भट्टले बताए। उनले यो वर्ष पनि खुर्सानी, करेला, काउली, भेडे खुर्सानी र टमाटरमा अत्यधिक विषादी भेटिएको बताएका छन्।
अत्तरियामा रहेको प्रयोगशालाले कर्बामेट समूह र अर्गानोफस्पेट समूहका विषादी परीक्षण गर्छ। परीक्षणमा फलफूल तथा तरसकारीमा ३९.९१९ प्रतिशत कार्बामेट तथा ओर्गानोफष्पेट ७२.३४९ प्रतिशतसम्म भेटिएको पन्तले बताए।
तरकारी तथा फलफूलमा विषादीको अवशेष ३५ प्रतिशत भन्दा मुनी भए खान मिल्ने, ३५-४५ प्रतिशत छ भने चार दिनसम्म क्वारेन्टाइन राख्ने र ४५ प्रतिशत भन्दा माथी छ भने नष्ट गर्नुपर्ने विषादी अवशेष परीक्षण निर्देशिकामा उल्लेख छ। किसानहरूमा विषादी प्रयोगको उचित ज्ञान नहुनु, सम्बन्धित निकायबाट नियमन र अनुगमन नहुनुले फलफूल तथा तरकारीमा विषादीको मात्रा उच्च देखा पर्ने गरेको बताइएको छ।
उत्पादक किसान र उपभोक्ताले सजग हुनुपर्ने र नियमनकारी निकायले विषादी प्रयोगको अभ्यासको अनुगमन गर्नुपर्ने आवश्यता देखिएको छ।