सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-८ का अध्यक्षले गरे व्यक्तिका नाममा सडक दर्ता गर्न भूमि आयोगलाई सिफारिस

२०८२ मंसिर १, ०२:४५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्षले सार्वजनिक सडक व्यक्तिका नाममा दर्ता गर्न राष्ट्रिय भूमि आयोगलाई सिफारिस गरेको तथ्य फेला परेको छ।

वडा अध्यक्ष जुगराम चौधरीले विभिन्न व्यक्तिका नाममा सडक दर्ता गर्न  राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कैलालीमा सिफारिस पठाएका हुन्। उनले वडा कार्यालयको लेटरहेडमा गत असार १५ गते सडक व्यक्तिको नाममा कायम गर्न पत्र पठाएका हुन्।

धनगढी-८ को पाउरोटी फ्याक्ट्रीदेखि नरुवा नालासम्मको सडक अतिक्रमणमा परेको छ। धनगढी गाउँको मुस्कान टोलदेखि घुइयाँघाट जाने पूरानो सडकमा स्थानीयले खेत तथा घर निर्माण गरेका छन्। सो सडकमा घर तथा खेत बनाएर बसेकाहरूको नाममा जग्गा दर्ता गराउन वडा अध्यक्ष चौधरीले सिफारिस गरेको पाइएको हो।

स्थानीय भज्जी राना र नारद रानालगायत १९ जनाको निवेदन आएकाले आफूले मिल्ने भए पुरानो सडक व्यक्तिको नाममा दर्ता गर्न सिफारिस लेखेको वडा अध्यक्ष चौधरीले बताएका छन्। उनले उक्त ठाउँमा २०३६ सालमा नयाँ सडक निर्माण गर्दा जुन-जुन व्यक्तिको जग्गा उक्त सडकमा परेको थियो ती व्यक्तिलाई पुरानो सडक उपभोग गर्न दिने सहमति भएको आधारमा सिफारिस गरेको बताएका छन्। 'नयाँ सडकमा ज-जसको जग्गा परेको थियो उहाँहरूका नाममा पुरानो सडकको जग्गा दर्ता गर्न १९ जना निवेदन लिएर आए। मैलै दर्ता गर्न मिल्ने भए दर्ता गरिदिनु भनेर सिफारिस गरेको हुँ,' उनले भने, 'स्थानीयले दबाब दिएपछि पत्र लेखेको हुँ।'

धनगढी गाउँको मुस्कान टोलदेखि नरुवा नालासम्मको सडक बाङ्गोटिङ्गो भएकाले २०३६ सालमा स्थानीयहरूसँग सहमति गरेर धनगढी नगर पञ्चायतले सडक सिधा नक्साङ्कन गरेको थियो। नयाँ सडकमा ज-जसको जग्गा परेको छ उनीहरूलाई पुरानो सडक उपभोग गर्ने मौखिक सहमति भएको थियो। तत्कालीन धनगढी नगर पञ्चालयत प्रमुख छेदालाल चौधरी र वडा अध्यक्ष दिनानाथ भट्टले पुरानो सडक भोगचलन गर्न पाउने भन्दै नयाँ सडक खोलेको भलमन्सासमेत रहेका भज्जी रानाले बताए।

भज्जी रानालगायत स्थानीय नारद राना, सूर्यप्रसाद चौधरी, ताराप्रसाद चौधरी, रामदिन राना, देवसिंह राना, पुरन राना, बालकिसन राना, भल्लुदेवी राना, रामसमझ राना, रोना राना, रामदासी थरुनी, प्रेम चौधरी, धनीराम राना, लालसिंह राना, राजाराम राना, प्रसाद राना, फिरङ्गी राना र मानसिंह रानाले पुरानो सडक भोगचलन गरिरहेका छन्। उनीहरूले नयाँ सडकमा आफूहरूको जग्गा गएकाले पुरानो सडक भोगचलन गरेको बताएका छन्।

२०३६ सालमा सडक सिधा बनाउँदा आफूहरूलाई सर्भे नापी हुने बेला पुरानो सडक नाममा हाल्ने मौखिक सम्झौता भएको भज्जी रानाको दाबी छ। तर सरकारी बाटो कुनै पनि व्यक्तिको नाममा दर्ता गर्न कानूनले भने छुट नदिएको नापी कार्यालय धनगढीका प्रमुख जनकराज भट्टले बताए।

नापी कार्यालयले जारी गरेको नक्सामा पूरानो सडकलाई साबिकको सडक भनेर देखाइएको छ। नक्सामा सडक कायम भए पनि फिल्डमा भने केही भाग बाहेक पूरै सडक अतिक्रमित छ। सडकमा खनेर खेत बनाइएको छ भने केही व्यक्तिले बाटोमै घरसमेत निर्माण गरेका छन्।

साबिकको सडक मिचिएको भन्दै केही स्थानीयले बिरोध जनाएका छन्। साबिक बाटो बन्द गरिँदा उनीहरूले आफ्नो जग्गा उपभोग गर्न र घर निर्माण गर्न समस्या भएको बताएका छन्। स्थानीय मुनारदेवी रानाले सडक अतिक्रमण हुँदा आफ्नो जग्गामा घर निर्माण गर्न समस्या भएको गुनासो गरेकी छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस