खाद्यले रोक्यो कैलालीमा धान खरिद, किसान ५ दिनदेखि पालो पर्खदै
धनगढी: धनगढी-११ का श्यामलाल राना एक ट्रली धान लिएर सोमवार धान खरिद केन्द्र मोहनपुर आएका हुन्। बिहान मोहनपुर आउने र साँझ धान बिक्री नगरी घर फर्किने गर्न थालेको रानालाई चार दिन भयो। बिहीबार पनि मोहनपुर खरिद केन्द्रमा भेटिएका रानाले खाद्यले खरिद कोटा पूरा भयो भनेकाले धान बिक्री नभएको बताए। उनले कोटा थप हुनासाथ कुपन लिन पाइएला भनेर दिनहु आउनु परेको बताए।
श्यामलालसँगै उनका छिमेकी पनि एक ट्रली धान लिएर सोमबार नै मोहनपुर खरिद केन्द्रमा आएका हुन। उनले पनि धान बिक्री गर्न नपाएको बताए।
मोहनपुर खरिद केन्द्रमै भेरिएका मानसिंह राना भने आइतबारदेखि दिनहुँ धान बिक्री गर्ने आसमा आउने गरेका छन्। गोदावरी-९ घर बताउने उनले एक ट्रली धान बिक्री गर्न ल्याएका छन्। उनले पनि धान कुर्न मात्रै पाँच दिनदेखि मोहनपुर आउनु परेको गुनासो गरे।
कञ्चनपुरको लालझाडी-२ बाट पाँच दिन अगाडि अर्थात् आइतबार एक ट्रली धान बिक्री गर्न आएका प्रवेश राना निराश देखिन्थे। उनले आफ्नो र आफ्ना छिमेकीको दुई ट्रली धान बिक्री गर्न नपाएको गुनासो गरे।
यस्तै, गोदावरी नगरपालिका-१ का सत्यराज रावल र किरण रावलले पनि आफ्नो धान बिक्री नभएको बताए। उनीहरूले धान बिक्री गर्न ल्याएर आफूहरूले दु:ख पाएको बताए। सरकारले कैलालीबाट धान खरिदको कोटा न्यून निर्धारण गरेकाले आफूजस्ता कयौं किसानले धान बिक्री गर्न नपाएको सत्यराजले बताए।
उनले सरकारले छिटो कोटा बढाएर सबै किसानको धान खरिद गर्नुपर्ने माग गरेका छन्। "धान बिक्री गर्न निकै समस्या झेल्नुपरेको छ। सरकारले किसानको मर्का बुझ्न सकेको छैन। धान बिक्री गर्ने किसान धेरै छन्। तर खरिद थोरै छ," उनले भने, "सरकारले हरेक वडा र पालिकामा खरिद केन्द्र राखेर धान खरिद गर्नुपर्ने हो। सरकारले किसानलाई सहुलियत दिन सकेको छैन।"
कैलारीए गाउँपालिका वडा नम्बर ५ बाट आएका रविन्स चौधरीले एक ट्रली धान बिक्री गर्न ठिक्क पारेको बताए। धान खरिद हुन्छ कि हुँदैन भनेर बुझ्न आएको बताउने उनले गाउँमा आफूसहित धेरै किसानले धान बिक्री गर्न नपाएको बताए। उनले गाउँमा व्यापारीले दुई हजार ५५० देखि दुई हजार पाँच सयमा धान खरिद गरिरहेको बताए। "म धान खरिद हुन्छ कि हुँदैन भनेर बुझ्न आएको हुँ। कैलारी ५ एक ट्रली कता बिक्री गर्ने भन्ने तनाब गाउँमा २६ सय मात्रै २५५० दिन्छन्," उनले भने, "खाद्यले बढी मूल्य दिन्थ्यो तर कोटा कम हुनाले खरिद नै बन्द गरेको रहेछ। यसरी त किसानलाई के फाइदा भयो र?"
बिहीबार बिहान ११:३० मा मोहनपुर खरिद केन्द्रमा १५ वटा धानको ट्रली थिए। धान बिक्री गर्न कुपन नपाएकाले ती ट्रली खरिद केन्द्र परिसरमा खडा गरिएका हुन्। केही किसान भने कोटा सकिएको जानकारी पाएपछि धान सहित घर फर्किएको त्यहाँ भेटिएका रामलखन रानाले बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो। बिहीबार बिहानसम्म २८ हजार ४४२ क्विन्टल धान खरिद भइसकेको प्रादेशिक कार्यालय धनगढीका प्रवन्धक दीपक थापाले बताए। "हामीले बिहीबार बिहानसम्म २८ हजार ४४२ क्विन्टल धान खरिद गरिसकेका छौँ। कोटाअनुसारको थप धानको कुपन पनि गत शुक्रबारसम्म वितरण भइसकेको छ," उनले भने, "अहिले थप धान खरिद गर्न नसकिने सूचना निकालेका छौँ। केन्द्रले थप खरिदको निर्णय गर्यो भने फेरि कुपन वितरण गरेर खरिद गर्न सकिन्छ। अहिलेसम्म कोटा थप्ने निर्णय भएको छैन।
कैलालीमा धान खरिदको कोटा बढाउन केन्द्रमा छलफल भइरहेको थापाले बताए। दोस्रो चरणका लागि कोटा थप हुनासाथ सार्वजनिक सूचना निकालेर नै कैलालीका ६ वटै खरिद केन्द्रबाट कुपन वितरण गरिने थापाले बताए।
खाद्यले कैलालीमा धनगढीको मोहनपुर, टीकापुर, सत्ती, भजनी, जोशीपुर र गौरीगङ्गामा खरिद केन्द्र राखेको छ। खाद्यले न्यून कोटा निर्धारण गर्दा किसानहरूले दुई हजार ५५० देखि दुई हजार ६ सय रुपैयाँमा धान बिक्री गर्नुपर्ने बाध्यता आइलागेको छ। खाद्यले भने मोटा धान प्रति क्विन्टलको तीन हजार ४६३ रुपैयाँ ८१ पैसा खरिद मूल्य तोकेको छ।