हिमाली गाउँपालिकामा जाडो बढ्दै जाँदा विद्यालय सुनसान
बाजुरा: बाजुराको हिमाली गाउँपालिकाका विद्यालयहरूमा शिक्षकहरू नियमित उपस्थित हुने गरे पनि विद्यार्थी भने विद्यालय नआउने गरेको पाइएको छ।
हिमाली गाउँपालिका–१ को बिच्छ्याबौडी क्षेत्र अहिलेदेखि नै अत्यधिक चिसो हुन थालेको छ। मङ्सिर, पुस र माघ महिनामा यहाँ बाक्लो हिमपात हुने गर्छ । यो ठाउँ जेठ–वैशाखमा पनि चिसो हुने भएकाले हिउँदमा झन् कडा जाडो व्याप्त हुन्छ।
यस क्षेत्रमा बसोबास गर्ने भोटे समुदायका मानिसहरू मुख्यतः जडीबुटी सङ्कलन र भेडाबाख्रा पालनमा निर्भर छन्। हिउँद सुरु हुनेबित्तिकै उनीहरू भेडाबाख्रा लिएर बेँसी (औल) तिर झर्ने गर्छन्। त्यस क्रममा उनीहरूको घर र गाउँ खाली हुने भएकाले बालबालिकासमेत अभिभावकसँगै बेँसी जान बाध्य हुने गर्छन्। परिणामस्वरूप, विद्यालयमा विद्यार्थीको उपस्थित शून्यजस्तै रहने गरेको छ।
गत कात्तिक ११ देखि विद्यालयहरू सञ्चालनमा आए पनि हिमाली–१ का सामुदायिक विद्यालयहरूमा अझै विद्यार्थी नियमित हुन सकेका छैनन्। केही दिनअघिसम्म बालबालिका जडीबुटी संकलनमा व्यस्त रहेका थिए।
गङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक वाल्मीकि पाण्डेका अनुसार, विद्यालय नियमित रूपमा खोलिए पनि विद्यार्थी फाट्टफुट्ट मात्र आउँछन्। “हामीले अभिभावकलाई पत्राचार गरेपछि केही विद्यार्थी आउन थालेका छन्,” पाण्डेले बताए।
वडाध्यक्ष जोक्या भण्डारीका अनुसार, विद्यालयमा शिक्षक र कर्मचारीहरू भेटिन्छन् तर विद्यार्थी भने प्रायः अनुपस्थित छन्। उनले कात्तिक १६ सम्म उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
“कात्तिक १८ गते स्थलगत अनुगमन गर्दा गङ्गा आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी मात्र थिए, विद्यार्थी एक जना पनि थिएन,” भण्डारीले बताए।
बर्खाको समयमा विद्यार्थीको उपस्थित सामान्य हुने गरे पनि जाडो सुरु भएलगत्तै हिमाली गाउँपालिकाका विद्यालयहरू फेरि खाली हुने क्रम दोहोरिने गरेको छ।