सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विप्लव समूहद्धारा प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी, इन्काउन्टर गर्ने चेतावनी

२०७६ साउन १८, ०१:४८ खबर संवाददाता

प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा एकजना प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जनअदालतको नाम दिएर राष्ट्रिय अनुसन्धान विभागका असईलाई २५ दिन उपस्थित हुन भन्दै पक्राउ पूर्जी जारी गरिएको हो। कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ।

कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ, कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।

अनुसन्धान विभागको असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने उल्लेख गरिएको छ।

तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावानी विप्लव समुहले उनलाई दिएको छ। कुँवरलाई इन्काउन्टरको चेतावनी पनि दिर्ईएको छ। पार्टीका गतिविधि र नेता कार्यकताबारे सुराकी गरेको भन्दै कैलालीको बौनियाका कुँवरलाई सुराकी नरोके इन्काउन्टरको चेतावनी दिएको हो। प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरी विरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो। 

कमेन्ट लोड गर्नुस