सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वाधार विकाससँगै कञ्चनपुरको मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

२०८२ असोज १२, ०४:२१ रासस


कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका-८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ। मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत, टेवा पर्खाललगायतका पूर्वाधार विकासका काम तीव्र गतिमा अघि बढाइएको हो।

बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार प्राचीनकालदेखि पूजाआराधना हुँदै आएको मणिकाधाम भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको थियो। 'मन्दिर परिसरलाई हराभरा बनाउन फलफूलका बिरुवा लगाएका छौँ, मैदान सम्याउने, खानेपानीको लाइन मर्मत गरी भक्तजनलाई सुविधा दिने काम गरेका छौँ”, उनले भने।

सङ्घीय सरकारले रु दुई करोड ४३ लाख ६२ हजार ६४१ को लगानीमा आधुनिक शैलीको धर्मशाला निर्माण गरिरहेको छ। समितिका सचिव डम्बरबहादुर ऐरका अनुसार धर्मशाला निर्माणको ९८ प्रतिशत काम सकिएको छ। धर्मशालासँगै स्नान गर्न धारा र तीनवटा शौचालय निर्माण हुँदैछन्।

विद्युत् विस्तार नभएकाले राति भक्तजनले अन्धकारमा सास्ती भोग्दै आएकामा पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको शुक्लाफाँटा-८ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए। 'तिहार अघि धार्मिक क्षेत्र उज्यालो बनाउने योजना छ, सोहीअनुसार काम भइरहेको छ', उनले भने।

धार्मिक क्षेत्र वरिपरि रहेको वनलाई ‘धार्मिक वन’ का रूपमा दर्ता गरी संरक्षण गर्ने कार्य पनि भइरहेको समितिले जनाएको छ। हरेक वर्ष वर्षात्को कारण बिग्रिने सडकलाई मर्मत गरी भक्तजनको आवागमन सहज बनाउन पहल भइरहेको छ। 

समाजसेवी टेकबहादुर हमालले मणिकाधाम जस्तो महत्त्वपूर्ण पर्यटकीयस्थलको विकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। पछिल्ला तीन वर्षदेखि स्थानीय तहबाट कुनै बजेट उपलब्ध नभएको उनले बताए। 'बाह्य स्रोतबाट आएको बजेटले मात्र अहिलेको पूर्वाधार निर्माण सम्भव भएको हो', उनले भने। 
समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भट्टका अनुसार करिब तीन दशकअघि झाडी सफा गरेर सडक निर्माण गर्न थालेपछि मात्र यहाँसम्म सामान लैजान सहज भएको हो । त्यसअघि गोरूगाँडामा साँधुरो झाडी भएको बाटोमा सामान बोक्न कठिन हुने गरेको उनले स्मरण गरे।

'झाडी सफा गरी सडक फराकिलो बनायौँ, प्रचारप्रसारको कार्य सुरु गर्यौँ , मेला आयोजना गर्यौँम, पर्यटन बोर्डको सहयोगमा मन्दिर निर्माण गर्यौँफ”, अध्यक्ष भट्टले भने। त्यसपछि मात्रै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान बनाउन थालेको उनले उल्लेख गरे।

यस क्षेत्रको धार्मिक महत्त्वसँगै थारु समुदायले यसलाई ‘मुड्का’ नामले चिन्ने गरेका छन्। थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ। यसै क्षेत्रमा सबैभन्दा अग्लो स्थानमा बैजनाथ बाबाको स्थापना भएकाले ‘मुड्का’ भन्ने चलन बसालिएको स्थानीय बताउँछन् । पछि मुड्काबाट मणिकाधामका रूपमा परिणत भएको हो। मणिकाधाम परिसरमा रहेको सुन्दर ताल भने अहिले पुरिँदै गएको छ।

समितिले तालमा स्थायी रूपमा पानीको व्यवस्था मिलाउन ‘आर्टिजन बोरिङ’ जडान गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यसैगरी, गुरुयोजनामा गुरुकुल सञ्चालन गरी वैदिक शिक्षा पद्दति जोगाउने योजना पनि अघि सारिएको छ ।

भक्तजनको मागअनुसार गौँडी नालामा पक्की पुल निर्माणका लागि पनि पहल भइरहेको छ । हाल पुल नभएकाले वर्षातको समयमा मणिकाधाम पुग्न कठिन हुने गरेको छ । मणिकाधाम क्षेत्रमा सिद्धनाथ, बैजनाथ बाबाको प्राचीन मन्दिर, विवाह मण्डप, धुनीघर, भजनकीर्तन गर्ने स्थल र साधु बस्ने कुटी रहेका छन् । प्रत्येक वर्ष फागुन महिनाको नवमी र दशमीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
घना सालको वनले घेरिएको मन्दिर, छेउमा रहेको मुड्का ताल र यहाँको सुन्दरताले धार्मिक महत्त्व उजागर गरेको स्थानीय बताउँछन् । पछिल्लो समय मणिकाधाम पर्यटकीय सम्भावनायुक्त क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । पूर्व-पश्चिम राजमार्गको कलुवापुर वा झलारी हुँदै सवारीसाधनमा आधा घण्टामा पुग्न सकिने यो स्थल स्थानीय मात्र नभई बाहिरी पर्यटकका लागि पनि आकर्षक केन्द्र बन्दै गएको छ । मणिकाधामलाई आधुनिक धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हालसम्मका प्रयासलाई निरन्तरता दिनुपर्ने सरोकार भएकाहरूको जोड छ ।

कमेन्ट लोड गर्नुस