अभागी जेन वाई पुस्ता
नारायण अवस्थीः अहिले मुलुकमा जेन्जी पुस्ताको चर्चा छ। भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनले जेन्जी पुस्ताको चर्चा चुलिएको हो।
भ्रष्टाचार विरोधी जेन्जी आन्दोलनमा नेपाली काँग्रेस र एमाले सम्मसलित केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि जेन्जीहरूको चर्चा विश्वव्यापी भएको हो। यो लेखमा भने म जेन्जी पुस्ताको विषयमा लेखिरहेको छैन। मैले जेन्जीभन्दा जेठो जेन वाई पुस्ताको विषयमा लेख्ने जमर्को गरेको छु।
जेन्जी पुस्ता १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्ता हो। जेन वाई भने १९८० देखि १९९६ को बीचमा जन्म लिएका व्यक्तिहरूको पुस्ता हो।
शिर्षकमै जेन वाईलाई मैले अभागी भनेको छु। यो पुस्ता त्यस्तो पुस्ता हो जसले नेपालमा घटित तीन वटा राष्ट्रव्यापी सत्ता पलटका आन्दोलन प्रत्यक्ष अनुभव गर्न पायो। जेन वाई पुस्ताको आधा जनसंख्याले मात्रै नेपालमा भएको २०४६ को जनआन्दोलन देख्यो। त्यो समयमा सबै भन्दा जेठो समूहलाई जम्मा ९ वर्ष मात्रै भएको थियो।
देशमा पञ्चायत समाप्त भएर बहुदल आएको सुन्यो मात्रै यो पुस्ताले तर परिवर्तनमा आफैं सहभागी हुन पाएन। सन् १९९० अर्थात् २०४६ सालको आन्दोलनले यो पुस्तालाई प्रजातन्त्रको अनुभूति गरायो तर सँगसँगै कतिपयको सम्पति र अभिभावक गुमाउने स्थिति बन्यो। प्रजातन्त्रको प्राप्तिसँगै यो पुस्ताले समाजमा रहेको एकता र सामूहिक भावना क्षीण हुँदै गएको र त्यसमा आफूहरू समेत भासिएको पाउने पुस्ता जेन वाई हुन पुग्यो।
जेन वाईले समाजको अभाव भोग्यो। सामाजिक अत्याचार भोग्यो। असमानता र पछौटेपन देख्यो। यो पुस्ताले पढ्न, लेख्न र भौतिक सुख सुविधा पाउन निकै संघर्ष गर्नु पर्यो। यो पुस्ताको ठूलो जनसंख्याले आफ्नो बाल्यकाल एकसरो लुगामा बितायो। भोको पेटमै रात कटायो भने खाली खुट्टा हजारौं किलोमिटर हिड्दै हुर्कियो। झरी र घाम, हुरी र बतास, अभाव र भोक, अन्याय र दमनसँगै हुर्किएको यो पुस्ता साच्चिकै अभागी पुस्ता हो।
जेन वाई पुस्ताले मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक हरेक संकटलाई नजिकबाट भोग्यो। तर आफैंले सिर्जनात्मक वा निर्णायक भूमिका भने खेल्न सकेन। बारम्बार प्रयोग हुँदै, अभाव र अन्यायसँग लड्दै, आफ्नै विरुद्धमा संघर्ष गर्न विवश यो पुस्ता साँच्चिकै अभागी पुस्ता हो।
भोको पेटमा विचार बोक्न बाध्य पुस्ता
जेन वाई पुस्ताले वाल्यकालमै प्राप्त गरेको बहुदलीय व्यवस्थाले राजनीतिक स्वतन्त्रता दियो। तर यो पुस्ताले राजनीति के हो? राजनीतिक सिद्धान्त के हुन्? नागरिक कर्तव्य के हुन्? भन्ने आधारभूत ज्ञान प्राप्त गर्न सकेन। जसका कारण बाटोमा जुन नेता भेटियो त्यही नेताको पार्टीको सदस्य बन्ने अवस्था निर्माण हुन पुग्यो।
जेन वाई पुस्ताले राजनीतिक दलको सदस्यता पहिले लियो त्यसपछि राजनीति बुझ्ने अवस्था बन्यो। यसरी समाजको हरेक अवयवलाई राजनीतिको नाममा अराजनीतिक विचार र दृष्टिकोणले संक्रमण गराउने पुस्ता जेन वाई हो। यो पुस्ताले विद्यालय, विश्विद्यालयको डिग्री हासिल गर्नुभन्दा राजनीतिक दल र नेतासँग आफ्नो पहुँच निर्माणमा बढी समय खर्च गरेको छ।
यो पुस्ताले अर्काले निर्माण गरेका विचार र सिद्धान्त घोकेको छ। पढेको पनि छ। तर आफ्नो उपस्थिति न राजनीतिमा बलियो बनाउन सक्यो न त उत्पादन र श्रमको क्षेत्रमा नै उदाहरणीय बनेर निस्कियो। जेन वाई पुस्ता अर्काको विचारको झोला बोक्ने पुस्ता बन्यो। यो पुस्ताले कुनै पनि क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाउन सकेन तसर्थ यो पुस्ता अभागी पुस्ता हो।
आफ्नै विरुद्ध लड्न विवश पुस्ता
नेपालको जेन वाई पुस्ताले आफ्ना लागि बाहेक अरुका लागि धेरै गरेको छ। यो पुस्ता यस्तो पुस्ता हो जसले आफू-आफू विरुद्ध लड्नु पर्यो। २०५२ साल फागुनदेखि सुरु भएको माओवादी विद्रोहमा सबैभन्दा बढी मारिने पुस्ता जेन वाई हो।
सेना, पुलिस र विद्रोही तर्फ विभाजित भएर एक अर्कासँग बम, बन्दुक र खुकुरी चलाएको जेन वाई पुस्ता, जेन एक्स पुस्ताबाट नराम्रोसँग प्रयोग भयो। माओवादी विद्रोहको क्रममा मारिएका १७ हजारभन्दा बढी मध्ये सबैभन्दा धेरै जेन वाई थिए। जेन वाई पुस्ताले बेबिबुमर्स पुस्ताका लागि रगत, पसिना र ज्यान बगायो। माओवादी विद्रोहको त्रासदी भोगेको, तात्कालिन राज्य पक्षको दमन र समाजबाट बहिस्करणमा परेको यो पुस्ता साच्चिकै अभागी पुस्ता हो।
पटक-पटक प्रयोग भएको पुस्ता
जेन वाई पुस्ता अहिलेसम्म पटक-पटक प्रयोग भएको छ। यो पुस्तालाई राज्यले प्रयोग गर्यो। राजनीतिक दलहरूले प्रयोग गरे। माफियाले प्रयोग गरे। तस्करले प्रयोग गर्यो। विदेशीले प्रयोग गर्यो। सत्ता र शासन हातमा लिन छोटो समयमा प्रयोग भएको र आफू सत्तामा बसेकाहरूको वफादार सेवक भएकाले यो पुस्तालाई अभागी भन्न सकिन्छ। कुशासन, भ्रष्टाचार र लुटधन्दाको साक्षी पटक-पटक बसेकाले जेन वाई पुस्ता अभागी पुस्ता हो।
परिवार र मातृभूमिबाट टाढिएको पुस्ता
जेन वाई पुस्ताको ठुलो जनसंख्याले आफ्नै परिवारमा बस्ने वातावरण पाएन। सिप तथा दक्षता हासिल गर्न नसकेकाले यो पुस्ताको ठूलो हिस्साले बेरोजगार बस्नु पर्यो। वेदेशी भूमिमा श्रम बेच्दै परिवार विखण्डनको पीडा भोग्ने पुस्ता भएकाले जेन वाई अगाभी पुस्ता हो।
जेन्जी आन्दोलन बदनाम गर्ने पुस्ता
जेन वाई पुस्ताले पार्टीका लागि काम गर्यो। नेताका लागि काम गर्यो। आफ्नो परिवारका लागि पनि थोर बहुत काम गर्यो। यो पुस्ताले बेबीबुमर र जेन एक्स पुस्ताका नेताहरूलाई हदैसम्म संरक्षण गर्यो। हरेक परिस्थितिमा उनीहरूलाई बोक्यो। तर पार्टीभित्र आफ्नो हस्तक्षेप बढाउन सकेन। राजनीतिक रुपमा सबैभन्दा बढी चाकरवाज देखियो भने भ्रष्ट नेताको सुरक्षा कवच बन्यो।
जेन वाई पुस्ताले क्षमता हुँदाहुँदै पनि देशको राजनीतिलाई सही बाटोमा ल्याउने प्रयाससम्म गरेन। बेबिबुमर पुस्तालाई खोपीको देउता झै पुज्यो। मुलुक र जनतामाथि पटक-पटक घात गरिँदा पनि यो पुस्ताले आफ्नो नेता र पार्टीसँग असहमती जनाउने र प्रश्न गर्ने आँट गरेन।
यो पुस्ताले पार्टी र नेताहरूलाई फूल्न, फल्न र फैलिन मलजल गर्यो। तर उनीहरूलाई खबरदारी गर्न सकेन। राजनीति बुझ्ने र गर्ने क्षमता हुँदाहुँदै पनि यो पुस्ताले अघिल्लो पुस्तालाई चुनौति दिनै सकेन। सानो स्वरमा समेत आफ्नो नेता र पार्टीका गलत कदम विरुद्ध बोल्न नसक्ने। तर विपक्षीमाथि भने अन्धवेगी भएर वैचारिक र भौतिक आक्रमण गर्ने जेन वाई अर्थात् मेरो पुस्ता साच्चिकै अभागी नै हो।
यो पुस्ताले आफूले अव्यवस्थालाई संस्थागत गर्न मद्दत मात्रै गरेन। गत भदौ २३ र २४ गते मुलुकभर जेन्जी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ गर्यो। जेन्जी आन्दोलनमा घुसपैठ भएर देशैभर सरकारी तथा निजि सम्पतिमा आगजनी, तोडफोड र लुटपाट गर्ने जेन वाईहरू हुन्। आन्दोलनलाई बदनाम मात्रै गरेन। जेन्जी आन्दोलनलाई हाईज्याकसमेत गर्यो ।