बारम्बारको सडक अवरुद्धले पुर्चाैडीका बासिन्दा हैरान
बैतडीः बैतडीको पुर्चाैडी नगरपालिकाका विभिन्न सडक खण्डमा वर्षासँगै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। खासगरी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड पुर्चाैडी हाट सडक खण्ड पहिरोले बन्द हुँदा समस्या भएको स्थानीयहरुले बताएका छन्।
सडक अवरुद्ध भएपछि विद्यालय जाने विद्यार्थीदेखि बिरामी बोकेर अस्पताल जाने स्थानीयले पनि सासती खेप्नुका साथै दैनिक जीवन अस्तव्यस्त बनेको वडा नम्बर ८ का गणेश बिष्टले बताए। ‘‘सडक बन्द हुँदा यहाँका बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिँदैन । सामान्य उपचारमा पनि ढिलाइ ढिलाइ भइरहेको छ ।” उनले भने।
यस्तै, हाटका व्यापारी सुरेन्द्र जोशीका अनुसार सडक बन्द हुँदा आवश्यक उपभोग्य सामान ल्याउन कठिनाइ भएको छ। ‘‘गाउँ भित्रिनु पर्ने चामल, तेलजस्ता खाद्यान्न समयमै नपुग्दा उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। यस क्षेत्रका सडक वर्षा लाग्ने बित्तिकै अवरुद्ध हुने गरेका छन्। स्थानीय पार्वती बोहराले भनिन् ‘‘हरेक वर्ष बर्खामा यस्तै हुन्छ । अस्थायी रूपमा मर्मत हुन्छ, तर दिगो समाधान खोजिदैन।”
तीज, गौरा जस्ता चाँडपर्व मनाएर आउजाउ गर्नेहरु धेरै समस्यामा परेको स्थानीयको भनाइ छ। कामको सिलसिलामा बाहिर जानुपर्ने बाध्यता भएकाहरुले सास्ती भोग्नुपरेको छ। ‘‘सरसमान बोकेर बालबालिका, वृद्ध वृद्धा समेतले काम विशेषले बाहिर जानु पर्ने हुन्छ तर बारम्बारको सडकको समस्याले दुर्दशा भोग्नुपरेको छ,” पुर्चाैडी नगरपालिका‑८ का लोकेश साँउदले भने।
कृषि उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसानहरू पनि मारमा परेका छन्। खेतमा उत्पादन भएको मकै र तरकारी बिक्री नभई नष्ट हुने अवस्था आएको वडा ७ का किसान करन ऐरीले गुनासो गरे। ‘‘सडक अवरुद्ध हुँदा कृषि उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ। यसले स्थानीयले आम्दानी गुमाउनु परेको छ” उनले भने। स्थानीय स्तरमा वैकल्पिक पहुँचमार्ग र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीय शिक्षक दिनेश पार्किले बताए।
पुर्चाैडी नगरपालिकाका जनप्रतिनिधिहरूले सडक मर्मत र दिगो संरचना निर्माणका लागि प्रयास भइरहेको जानकारी दिएका छन्। तर निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको नगरपालिकाले जनाएको छ।