पाँच दिनपछि कर्णाली राजमार्ग सुचारु
जुम्लाः अविरल वर्षासँगै गत शुक्रबारदेखि गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पन्छाउन नसकेका पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर हटाएको हो।
पहिरोले रोकिएका साना तथा ठूला मालवाहक गाडी अहिले सञ्चालनमा आइसकेका छन्। सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत, नेपालगन्जतर्फ प्रस्थान गरेका छन्। स्याउ बोकेका २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए।
झन्डै १३ करोडभन्दा बढी मूल्य बराबरको १८४ मेट्रिक टन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ता बढेको थियो।
ब्रेकर लगाएर ढुङ्गा फोड्ने प्रयास गर्दा पनि सम्भव नभएपछि ब्लास्ट गरिएको हो । सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक सञ्चालनमा आएको बताए । उनका अनुसार हरेक सम्भव प्रयास गर्दा पनि मौसम प्रतिकूलता, भौगोलिक कठिनाइ र स्रोत–साधनको अभावका कारण सडक चाँडै खोल्न नसकिएको हो ।
सडकमै अलपत्र परेका स्याउका गाडी गन्तव्यतर्फ पुगेपछि व्यापारी खुसी भएका छन्। स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अवरुद्ध हुने समस्या रहने भएकाले यसको दीर्घकालीन समाधान तथा ढुवानीमा सहुलियत दिनुपर्ने किसान तथा व्यापारीले माग गर्दै आएका छन् ।
वर्षा अझै जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा अत्यावश्यक काममा मात्रै सडकको अवस्था बुझेर यात्रा गर्न सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ।