सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहुला बन्नै आँटेका कैलालीका मनोज बेहुली बनेपछि.....

२०७६ साउन ११, १२:१७ कमल सावद

कैलालीको कैलारी गाउँपालिकाको दुदिया गाँउमा २०४६ सालमा दोस्रो छोराका रुपमा जन्मिए मनोज चौधरी, मनोजको जन्मसंगै दुई छोराकी आमा बनिन् पुनितादेवी चौधरी। दुई सन्तान ईश्वरका बरदान भनेझैँ घरमा छोरा जन्मेसँगै खुशियाली छायो। घर सुखशान्तीले चलिरहेको बेला मनोजका बुबाको मृत्यु भएपछि परिवारमा समस्या थपिदै गए। ‘म ९÷१० वर्षको थिएँ क्यारे, बुबाको मृत्यु भयो,’ उनले भने, ‘घरमा अलि समस्या थपियो, तर पनि जसोतसो घर धन्दा चलायौं।’ मनोज सानैदेखि नै अन्य बालबालिका भन्दा आफु फरक स्वभाव भएको बताउँछन्। तर उनले आफ्नो समस्या न कसैसँग राखे न कसैले उनलाई बुझ्न सके। मनोजलाई जन्मदिने उनकी आमाले मात्र होइन सिंगो समुदायले नै उनलाई छोरो मान्छे भनेर चिन्थे। 

समयले पनि काँचुली फेर्दै गयो, कक्षा १० सम्म स्थानिय लक्ष्मी माद्यामिक विद्यालय पृथ्वीपुरमा अध्ययन गरेका उनले त्यसपछि धनगढी आउने सोच बनाए। उमेर बढ्दै जाँदा उनका विभिन्न शारिरीक अंगहरुको बनावटमा सोचे जति परिवर्तन आउन सकेन। यति सम्म पनि उनले आफु तेस्रो लिङ्गी भएको महसुस समेत गरेका थिएनन्। त्यतिखेर आफ्नो दैनिकी केटा साथीहरुसँग वित्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘म जता जाँदा नि केटा साथीहरुसँग नै जाने गर्दथेँ, म आफुलाई केटो नै सम्झन्थेँ, न मलाई तेस्र्रो लिङ्गी शब्द थाहँ थियो न कसैले यसको बारेमा मलाई भनेका थिए।’

कक्षा १० पास गरिसकेपछि मनोज धनगढी पुगे। कुरा २०६४ साल तिरको हो। उनी धनगढीको त्रिनगर माद्यामिक विद्यालयमा भर्ना भए। कक्षा कोठामा मनोज केटासाथीहरुसंग नै रमाउँथे। ‘म आफ्ना केटा दौतरीहरुसँग नै आकर्षित हुन्थे, उनीहरु सँग यौनभाव उत्पन्न हुन्थ्यो। तर पनि मैले आफ्नो समस्या कसैसित पनि भनेको थिएन।’ उनले सुनाए,  त्यहि दौरानमा तेस्रो लिङ्गीका क्षेत्रमा काम गर्ने एक संस्थाले उनलाई यो बिषयमा जानकारी दियो। संस्थाले भनेका हरेक कुराहरु उनीसँग मिल्न पुगे। सो समयमा भने मनोज आफु तेस्रो लिङ्गी भएको कुरामा निश्चित भए। उनले सँगै हिड्ने साथीहरुसँगको घुलमिल पनि कम गर्न थाले। केटा साथीहरुलाई उनी विपरित लिङ्गी ठान्न थाले।मनोजले आफु तेस्रो लिङ्गी भएको थाहाँ पाइसकेपछि उनले आफ्नो नाम परिवर्तन गरे, मनोजबाट आशिका। 

उनी भन्छिन्,‘पहिले सँगै हिँड्ने केटा साथीहरु मेरो क्रियाकलाप देखेर छक्क पर्थे। किनकी मैले उनीहरुलाई केही भनेकी थिइन्। एकाएक एउटा केटासँग प्रेम सम्बन्धमा बस्यो।’ करिब तीन वर्षको सम्बन्धपछि तेस्रो लिङ्गी भएकै कारण प्रेम सम्बन्धमा पुर्णविराम लागेको उनी बताउँछिन्। यति सम्म पनि उनको घरको मान्छेलाई थाहा थिएनकी मनोज तेस्रो लिङ्गी हो। तर मनोज उर्फ आशिकाको कैलारी गाँउपालिका जाने–आउने क्रम भने जारी थियो। 
छोराको उमेर पुगेपछि घरको मान्छेले बिहेको प्रस्ताव राख्नु स्वभाविक हो। एकदिन मनोज धनगढीबाट घर गए। घरमा मनोजको आमा र उनका भिनाजुले मनोजका लागि केटी हेरेका रहेछन्। बिहेको कुरा पनि निश्चित भइसकेको रहेछ। बाँकी थियो त मनोजले केटी हेर्नु। मनोज (आशिका) भन्छिन्, ‘घर गएको बेला भिनाजुले केटी हेर्न जाऔं भने, म अकमक्क परे, यो बिषयले मलाई हैरान बनायो, आमाले पनि विवाह गर्ने समय भएको भन्दै दवाव दिन थालेकी थिइन्।’

अहिले म पल्लो गाउँको मेलामा जान्छु पछि केटी हेर्न जाउँला भन्दै त्यहाँ बाट आफु भागेको उनी बताउँछिन्। त्यति खेर नजिकैको गाउँमा मेला लागेको थियो। उनी भन्छिन्,‘मोवाईल स्विचअफ गरेर मेला गएँ, त्यतैबाट धनगढी लागे, घरको मान्छेसँग केही दिन सम्पर्कमा बसेन्, पछि घरको मान्छेले थाहा पाइसके छन्, घरका मान्छेले सानैदेखि छोरा भनेर पालेको, एक्कासी तेस्रो लिङ्गी हुँ भन्ने आँट नआएको आशिका बताउँछिन्। आशिका भन्छिन्,‘घरको मान्छेले थाहा पाइसकेपछि बाहिर भन्न डर लागेन, पछि खुलेर आफु तेस्रो लिङ्गी भएको पहिचान दिन थालें।’ म तेस्रो लिङ्गी भएपनि घरमा दाजुले अहिले सम्म भाई भनेर सम्बोधन गर्ने गरेको उनी बताउँछिन्। उनकी आमा पुनिता भन्छिन्,‘सानैदेखि छोरा भनेर पाले,  छोरा भनेर नै बोलाए, अहिले छोरी भन्न मनले मान्दैन, यो सब दैवको खेल न हो।’ 

आशिकाले भने अहिले एक जना केटासँग विवाह गरेकी छिन्। कैलालीको प्रमुख धार्मिक स्थल गोदावरी धाममा गएर उनले सिउँदोमा सिन्दुर सजाएकी हुन्। आफु तेस्रो लिङ्गी भएपनि परिवारबीचको सम्बन्ध राम्रो भएको उनी बताउँछिन्। उनी भन्छिन्, जहाँ इच्छा त्यहाँ उपाय, तेस्रो लिङ्गी भएकै कारण म विवाह नगरी बस्न सकेन्। विवाह गरेँ, हामी दुई श्रीमान–श्रीमतीबिच सम्बन्ध पनि राम्रै  छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस