सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाकाे व्यवस्था राख्ने सहमति

२०८२ भदौ १६, ०३:३७ खबर संवाददाता

काठमाण्डाै: सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो।

यसअघि प्रतिनिधिसभाबाट पारित विधेयकमा नासु पदमा खुला पदपुर्ति नगर्ने व्यवस्था रहेको थियो । यस्तै यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएर १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको थियो।

यसैबीच निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा राष्ट्रियसभामा राजनीतिक दलहरू विभाजित भएका छन्। सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रूपान्तरित भएको ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।

समितिमा यही विषयमा निजामती विधेयक अड्किएको छ । यही कारण आज दिउँसो सवा १ बजेका लागि बोलाएको राष्ट्रियसभाको बैठक अहिले दिउँसो सवा ३ बजेका लागि सारिएको छ।

कमेन्ट लोड गर्नुस