रातोतातो स्टेशनले डोटेली भाषा र संस्कृतिलाई आम-जनमानसमा पुर्याउँदै
धनगढी: विगत ६–७ वर्षदेखि हास्यव्यङ्ग्य भिडियो उत्पादन गर्दै आएको रातोतातो स्टेशन युट्युब च्यानलले पछिल्लो समय डोटेली भाषा र संस्कृतिको जगेर्नामा विशेष योगदान दिइरहेको छ।
डोटेली भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि यस समूहले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। युट्युब च्यानलमार्फत डोटेली गीत–सङ्गीत, हास्यव्यङ्ग्य तथा अन्य कलामार्फत स्थानीय संस्कृति र पहिचानलाई देश–विदेशसम्म पुर्याइँदै आएको छ।
हालै सार्वजनिक गरिएको “पुतली” नामक गीत लाखौँ दर्शक तथा श्रोताहरूको मन जित्न सफल भएको छ। गीतलाई रातोतातो स्टेशन युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
यो च्यानललाई निरज भण्डारी, रोहित साउँद, सुरज सिंह भण्डारी (माउडे) तथा कवि न्याथन रायनले सञ्चालन गर्दै आएका छन्। उनीहरूका अनुसार भविष्यमा पनि डोटेली भाषा र संस्कृतिलाई अझै व्यापक बनाउन विभिन्न सांस्कृतिक सामग्री प्रस्तुत गर्ने योजना रहेको छ।