सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा तीन वर्षमा हराएका ५२ को अवस्था अज्ञात

२०८२ भदौ ६, ०१:५६ खबर संवाददाता

बैतडीः बैतडीमा पछिल्लो तीन वर्षमा हराएका मध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकले जिल्लामा हराएकामध्ये ५२ को अवस्था अझै अज्ञात रहेको देखाएको हो। भारतसँग सीमा जोडिएको बैतडीमा गएको तीन वर्षमा कुल ३४२ जना हराएको प्रहरीको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७९÷८० मा १०५ जना, ०८०÷०८१ मा ११५ जना र आर्थिक वर्ष २०८१/०८२ मा १२२ जना हराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

उनका अनुसार हराएका ३४२ जनामध्ये २९० जना फेला परिसकेका छन। आर्थिक वर्ष २०७९÷०८० मा हराएका १०५ जना मध्ये ९१ जना फेला परेको प्रवक्ता पाण्डेयले बताए। यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा हराएका ११५ मध्ये ११३ जना फेला परेको र गत आर्थिक वर्षमा हराएका १२२ जना मध्ये ८६ जना फेला परेको उनले बताए।

उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा हराएका १४ जना, २०८०÷०८१ मा हराएका २ जना र गत आर्थिक वर्षमा हराएका ३६ जना गरी ५२ जनाको अवस्था अझै अज्ञात रहेको हो। बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक÷एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ। बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ।

प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ। गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ। ललाइफकाइ र आफैँै पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस