हिन्दु नारीहरूको महान चाड हरितालिका तीज विशेष
मान सिंह धामी– नजिकै आइरहेको हरितालिका तीजको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दिदीबहिनी दाजुभाइ लगायत सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
तीजको पूर्व सन्ध्यामा शहर बजार, गाउँघरतिर एक बेग्लै किसिमको रौनक छाएको छ। हिन्दु नारीहरू रङ्गीविरङ्गी साडी ब्लाउज, गरगहनाले सजिएका छन्। तीज हिन्दु नारीहरूको लागि एक विशेष किसिमको धार्मिक, सांस्कृतिक तथा सामाजिक चाड हो। यश लेखमा तीज किन मनाइन्छ र यसको नेपाली समाजमा के महत्त्व छ भन्ने कुरा प्रष्ट पार्ने प्रयास गरिएको छ। सबैभन्दा पहिले तीजको सुरुवात कसरी भयो त भन्ने कुरा उल्लेख गर्नु सान्दर्भिक हुन्छ।
परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन्। तर, उनको तपस्या सफल हुन सकेन। जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए।
विभिन्न अध्ययन तथा जनश्रुतिका आधारमा प्राप्त जानकारी अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए। यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन्। त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो। विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ।
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन। तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ। महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन्।
तीजको दिनमा पानीसम्म नखाई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ। यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरी नाचगान गर्छन्। यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन्। कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन्।
दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन्। श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो। श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे। यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो।
नेपाली समाजमा प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ। विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना सुखदुःखका पीरमार्का व्यक्त गर्ने अवसर तीजले नै जुराउँछ।
यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ। पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ। घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्धलाई पनि यो पर्वले प्रगाढ बनाउन मद्दत गर्दछ।
मान सिंह धामी (औल्लेकी)
माालिकार्जुन गाउँपालिका हुनैनाथ– ४ गोठ्युडी (कोटबुङ्गा), दार्चुला