सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

२०८२ भदौ ३, ११:५८ रासस

भोजपुरः पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ।

यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ। ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन्। अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ।

विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउँछन्। विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ। “विद्युत् गाउँघरको मुहार फेरेको छ”, उनले भने, “विद्युत् विस्तारले गाउँघर उज्यालो भएको छ।

टोलटोलमा विद्युतीय मिल जडान भएका छन्। विद्युत्ले गाउँले जीवनमा ऊर्जा थपेको छ ।”विद्युत् विस्तारपछि आफ्नो गाउँमा मात्र छवटा बढी विद्युतीय मिल रहेको उनले बताए  विद्युत् विस्तारसँगै साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ। गाउँघरमा राज्यको तहबाट विद्युत् विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताए।

“विद्युत्ले दैनिक जीवनयापनमा फेरबदल आएको छ”, राईले भने, “विद्युत्को माध्यमबाट फर्निचर उद्योग चलाएका छौँ, उज्यालोमा बस्न पाएका छौँ, विद्युत् गाउँले जीवनमा सहजता र खुसी ल्याएको छ।” पछिल्लो एक दशकको अवधिमा जिल्लाका धेरै दूरदराजका गाउँमा उज्यालो छाएको उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस