सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा मृत्यु भएका तीन नेपालीका परिवारलाई दुर्घटना बापतको रकम लिन अनुरोध

। फोटो स्रोत ।
२०७६ साउन ८, ०५:५३

सरकारले दक्षिण कोरियामा मृत्यु भएका तीन नेपालीका परिवारलाई दुर्घटना बापतको रकम लिन अनुरोध गरेको छ। ईपीएसमार्फत दक्षिण कोरिया गएका पाँचथर मिक्लाजुङका सरोज आङदेम्बे, धादिङ कटुन्जेका काठुर तामाङ र उदयपुर त्रियुगाका भुपाल राईका परिवारलाई रकम लिनका लागि सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको हो। 

कोरियामा सामसुङ कम्पनीमा उनीहरुको सवारी दुर्घटनामा मृत्यु भएको र उनीहरुको बाँकी तलब लगायत अन्य रकम कम्पनीबाट प्राप्त भएकाले मृतकका हकदारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

सरोजका परिवारले १२ हजार ७७९ अमेरिकी डलर अर्थात आजको विनिमय दर अनुसार १४ लाख १३ हजार १६५ नेपाली रुपैयाँ, ठाकुरका परिवारले १८ हजार ६०६ अमेरिकी डलर अर्थात २० लाख ५३ हजार ४५१ रुपैयाँ र भुपालको परिवारले १६ हजार ७८१ अमेरिकी डलर अर्थात १८ लाख ५२ हजार ३५ रुपैयाँ पाउने नेपाली दूतावास सिओलले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस