दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह
झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई घाटमा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारले रु दुई करोड, कन्काई नगरपालिकाले २० लाख र दाताले १० लाख लगानी गरेका छन्।
विद्युतीय शवदाह गृहबाट शव दहनमा करिब ५० मिनेट लाग्ने र दाउराले तीनदेखि साढे तीन घण्टा लाग्ने बताइएको छ। झापाःझापाको कन्काई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ। कोशी प्रदेश सरकार, कन्काई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो।
विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख लगानी रहेको छ। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए। ‘शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ’, उनले भने, ‘एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।’
कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए।