सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटा व्यवसायीहरूले पुस मसान्तपछि मात्र इटा पोल्न पाउने

२०८२ साउन ३१, ०५:०८ खबर संवाददाता

धनगढी:  नेपाल सरकारले इटा व्यवसायीहरूका लागि नयाँ नियम लगाएको छ।

नेपालमा इटा उत्पादन गर्दै आएका व्यवसायीहरूले पुस महिना अगाडी इटा पकाउन नपाउने भएका हुन्।

नेपाल इटा उद्योग महासंघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुडालले प्रदेशका सम्पूर्ण ईटा उद्योगीहरूलाई नेपाल सरकारले तोकेको नयाँ मापदण्ड र कानूनको पूर्ण पालना गर्नुपर्ने बताएका छन्। उनले पत्रकारहरूसँगको कुराकानीमा सरकारको पछिल्लो निर्णय अनुसार ईटा उद्योगहरूलाई थप व्यवस्थित र वातावरणमैत्री बनाउन लागिएको बताएका छन्।

अध्यक्ष बुडालले सरकारको निर्देशन अनुसार यस वर्षदेखि देशभरका ईटा उद्योगहरूले पुस मसान्त पछि मात्र ईटा पोल्ने (फायरिङ) कार्य सुरु गर्नुपर्ने जानकारी दिए। “सरकारले वातावरणीय प्रदूषण, विशेषगरी हिउँदमा देखिने बाक्लो हुस्सु र धुवाँको समस्यालाई न्यूनीकरण गर्न यो निर्णय लिएको हो,” उनले भने, “हामीले सरकारको यस सकारात्मक कदमलाई स्वागत गर्दै कानूनको पालना गर्नु हाम्रो कर्तव्य हो।”

पुस महिनामा अत्यधिक चिसो र हुस्सुका कारण प्रदूषणको स्तर उच्च हुने भएकाले माघदेखि फागुनमा मौसममा केही सुधार आउने र हावा चल्ने हुँदा प्रदूषणको असर कम हुने विश्वास लिइएको छ। यसले जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने नेपाल सरकारको दाबी छ।

यसैगरी, अध्यक्ष बुडालले सरकारले परम्परागत र अत्यधिक प्रदूषण फैलाउने भुसे भट्टा उद्योग हरूलाई पूर्ण रूपमा बन्द गर्न र सञ्चालनमा रोक लगाउने निर्देशन दिएको पनि स्पष्ट पारेका छन। “अब हामीले वातावरणमैत्री र आधुनिक प्रविधिमा जानुको विकल्प छैन। पुराना प्रविधिले हाम्रो स्वास्थ्य र वातावरण दुवैलाई असर गरिरहेको छ,” उनले भने। जिल्ला प्रशासन कार्यालयहरूले समेत यस्ता उद्योगहरूलाई अविलम्ब बन्द गर्न सूचना जारी गरिसकेको सन्दर्भमा अटेर गरी सञ्चालन गरेमा कानुनी कारबाही भोग्नुपर्ने उनले चेतावनी दिएका छन।

अध्यक्ष बुडालले उद्योगीहरूलाई आइपर्ने समस्या समाधानका लागि महासंघले सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउँदै अल्पकालीन रूपमा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसले समग्र इटा उद्योग क्षेत्रलाई नै फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन।

 

कमेन्ट लोड गर्नुस