अत्तरियामा बसपार्क र बस्ती छोडेर तारबार गर्दै नेपाली सेना

अत्तरियाः कैलालीको अत्तरिया क्षेत्रमा साढे १७ हेक्टर जग्गा आफ्नो भएको दाबी गर्दै आएको नेपाली सेनाले अत्तरिया बसपार्क, बस्ती र लामिताल क्षेत्र छोडेर तारबार गरिरहेको छ।
लामो समय देखि बसपार्क, बस्ती र लामिताल आफ्नो भोगाधिकारमा रहेको दाबी गर्दै आएको सेनाले अन्ततः ती संरचना छोडेर तारबाट गरिरहेको हो। सेनाले केही वर्ष यता आफ्नो भोगाधिकारमा रहेको भन्दै अत्तरिया बसपार्क निर्माणमा अवरोध गर्दै आएको थियो भने ६१ घरधुरी रहेको बस्ती हटाउन पनि चेतावनी दिदैं आएको थियो। भोगाधिकारमा भएको भने पनि सेनाले उक्त क्षेत्रमा विगत १ वर्ष देखि मात्रै भोगचलन गरिरहेको थियो भने हाल आफ्नो भोगचलनमा रहेको जग्गा संरक्षण गर्ने भन्दै सेनाले तारबार गरिरहेको हो।

जसअनुसार हाल सम्म सेनाले ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भाग छोडेर तिन तिर तारबार गरिसकेको छ। दुवै प्रहरी कार्यालयको पछाडिको क्षेत्रमा भने विवाद हुँदा काम रोकिएको छ। प्रहरीले नै सेनाको भोगाधिकार रहेको जग्गामा भौतिक संरचना निर्माण गरेकाले विवाद हुँदा काम रोकिएको स्रोतको दाबी छ।

वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा नेपाली सेनालाई नछाड्ने अडान प्रहरीले लिएको छ भने सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाले दाबी गरिरहेको छ। दुवै पक्ष बिच सहमति नहुँदा हाल उक्त क्षेत्रमा तारबारको काम रोकिएको छ।
सेनाले तारबार गरेपछि अत्तरियामा रहेको बौद्ध गुम्बा, रेडक्रस भवन अत्तरिया देखि बौद्ध गुम्बा हुँदै बास्कोटा जाने बाटो सेनाको घेरबार भित्र परेको छ। यद्यपि सेनाले बाटोहरूको निकास र प्रवेशद्वार भने हाल खुलै राखेको छ । प्रवेश र निकासद्धारमा गेट राख्ने सेनाको योजना छ। यस्तै बसपार्कबाट लामिताल जाने बाटो पनि सेनाले आफ्नो घेरबार भित्र राखेको छ । लामितालको दक्षिण क्षेत्रको केही भाग सेनाको घेरबार भित्र पर्ने गरी तालको दुबैपट्टि घरबाट गरिएको छ भने ताल क्षेत्रमा भने खाली छोडिएको छ ।


लामो समय देखि विवादित जग्गामा सेनाले ठेक्का मार्फत तारबार गरिरहेको हो । सेनाले ई–विडिङ मार्फत टेन्डर गरी गरिएको ठेक्का सम्झौतामा १ हजार ८ सय मिटर तारबार गर्ने उल्लेख छ । तारबार गर्ने क्षेत्रमा ५ वटा गेट राखिएको छ । यसअघि सेनाले बस्ती, बसपार्क र लामिताल क्षेत्र छोडेर तारबार गर्ने गरी टेन्डर आह्वान गरे पनि सेनाले यी नि वटै क्षेत्रमा तरबार गर्न लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमात्मक सूचना पनि फैलिएका थिए । यद्यपि सेनाले हाल टेन्डर आह्वान गरे अनुरूप नै काम गरिरहेको छ ।
अत्तरियामा तत्कालीन माओवादी सशस्त्र द्वन्द्व भएको बेला सेना बसेको स्थानीयको भनाइ छ । सशस्त्र द्वन्द्व सकिने बेला सेनाले उक्त जग्गा आफ्नो भोगाधिकारमा हालेको जानकारहरू बताउँछन् । अत्तरियामा सेनाले २०६२ सालमा जग्गाको भोगाधिकार लिएको देखिए पनि भीमदत्त राजमार्ग छेउको बस्ती भने सो अघि नै बसेको स्थानीय हितेस विक बताउँछन् । उनले सेनाले भोगाधिकार लिनु अघि आफूहरूले जग्गाको भोगाधिकार गरिरहेको भए पनि सेनाले हवाई नक्सा मार्फत आफ्नो नाममा गरेर बस्ती हटाउन दाबी गर्दै आएको बताए।