धनगढीको हाम्रो डेरीका मामा भान्जाको संघर्ष
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ यही उखानबाट सुरु गरे, उनले आफ्नो विगत र वर्तमानको कथा। समाजले कुनै बेला उनलाई एक रुपैया ऋण दिन समेत विश्वास गरेको थिएन्। धाउन त उनले छिमेकी, नातागोता सबैतीर धाएका थिए ऋण काँढ्नका लागि। केही समय धनगढीकै एक होटलमा मजदुरी गरेका उनको मनमा सानो भएपनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने इच्छा जाग्यो तर खल्तीमा त्यो अनुसारको दाम थिएन।
ऋण काँढेर सानो व्यवसाय सुरु गर्ने अठोट लिएर उनी छिमेकी, आफन्त, नातागोता चिनजानका सबैसंग अनुनय विनय गर्न समेत छुटाएनन्। त्यति मात्र होईन् छुटाएनन् उनले धनगढीका बैँक तथा वित्तिय संस्था पनि। तर न उनलाई आफन्तले पत्याए न त बैँक तथा वित्तिय संस्थाले नै। उनीसंग होटलमा मजदुरी गरे वापत पाएको ११ हजार रुपैँया पनि त्यही दौडधुपमै सकिएको थियो।
यो विवशता सुनाउने मान्छै उनै हुन् जसले अहिले दैनिक ३० देखि ४० हजार सम्मको कारोबार गरिरहेका छन्, धनगढीको हाम्रो डेरीका सञ्चालक नरेश बहादुर खत्री। शिवनगरमै स्थायी बसोबास भएका खत्रीले करिब तीन वर्ष अघि मात्र दुग्ध व्यवसाय सुरु गरेका थिए। कुनै सीप नचलेपछि बुबाले दर्ता गरेको फार्मबाट उनले निर्माणको एउटा ठेक्का पाए। त्यही ठेक्काबाट वचत भएको ८० हजारबाट खरिद गरेका थिए डेरी सञ्चालनका लागि आवश्यक पर्ने केही सामान तर त्यो रकम नै पर्याप्त थिएन।
आवश्यक पर्ने थप समान खरिदका लागि उनले अन्ततः जन्म दिने आमालाई गुहारे। आमाले महिला समूहबाट एक लाख ऋण काँढेको रकमले आवश्यक पर्ने थप समाग्रीको जोहो गरे। एक महिनामा उनले महिला समूहबाट लिएको क्रण तिरेको सुनाए। एक महिनामै समूहको क्रण तिर्न सफल भएका खत्रीको लक्ष्यमा हातमा हात काँधमा काँध मिलाईसंगै सहयात्रा गर्ने व्यक्ति पनि उनले पाएका थिए।
ती हुन् खत्रीका मामा हिक्मत कुँवर, विगतलाई सम्झीदै खत्रीले भने, ‘त्यति बेला व्यक्तिगत रुपमा कसैले सहयोग नगर्ने, विश्वास नगर्ने स्थिती थियो, बैक धाउँदा बैँकले समेत विश्वास गरेन, पछि आमाले महिला समूहबाटै निकालेको एक लाखले व्यवसायलाई अगाडी बढायौँ अहिले राम्रै चलिरहेको छ।’
व्यवस्थापन संकायबाट स्नातक गरेका खत्री र उनका मामा हिक्मतले होटलको मजदुरी छोडेर बनाएका थिए डेरी सञ्चालन गर्ने योजना। सुरुका दिनमा शिवनगरमै मामा हिक्मतकै घरको सटरमै दुध विक्रि वितरण गदर्थे उनीहरु।
अध्ययन र कामको शिलशिलामा सिकेका कुराहरु, युट्युब र अनलाईनबाट अध्ययन गर्दै केही कुराहरु अग्रज व्यवसायीबाट सिक्दै व्यवसाय गर्दै आएका उनीहरुलाई धेरै समय पनि बितेको छैन्। सुरुवाती चरणमा दैनिक ४० लिटर दुध बिक्रि गर्न पनि गाह्रो नै पर्दथ्यो उनीहरुलाई। ‘एकातीर नयाँ व्यवसाय त अर्कोतीर ग्राहकको मन जित्न पनि नसकेको स्थिती थियो हाम्रा लागि’ खत्रीले भने, ‘व्यवसाय गर्ने क्रममा हुने गल्ती र कमजोरी सच्याउँदै मामा भान्जाले सहयात्रा गर्दै जादा ग्राहकको मन जित्न सफल भएका हौँ।’
व्यवसायमा आएका उतारचढावलाई छिलोल्दै चार वर्षकै अवधीमा उनीहरु राम्रो बजार बनाउन सफल भएका छन्। ‘मामा भान्जाले साँझ बिहान नै छलफल गथ्यौँ, योजना बनाउथ्यौँ भोलीका दिनमा कसरी व्यवसायलाई अगाडी बढाउने भन्ने विषयमा हामीबिच गहन छलफल हुने गर्दथ्यो।’ उनले सुनाए, ‘फलस्वरुप व्यवसाय सुरु गरेको छोटो समयमै हामी राम्रो बजार बनाउन सफल भयौँ।’ शिवनगरमा एउटा घर भाडामा लिएपछि नै दुग्धजन्य थप परिकारको कारोवार गर्न पनि थालेका थिए उनीहरुले।
सुरुका दिनमा दुध, दही मोहीको कारोवारबाट दैनिक नौ हजार सम्म आम्दानी गर्ने उनीहरु अहिले ३५ देखि ४० हजार कारोबार हुने बताउँछन्। सात÷आठ जनालाई रोजगारी पनि दिएका छन् उनीहरुले। साँझ बिहान त पसलमा ग्राहकको लाईन नै हुन्छ अहिले त, सबैले पत्काएका छन् उनीहरुलाई। कहिले त माग पूर्ती गर्न पनि निकै कठिन हुने गरेको छ हाम्रो डेरीलाई।
पसलको नाम छनौटमै एक महिना बिताएका थिए मामा भान्जाले
हाम्रो डेरी, धेरैले सुनेको, देखेको अझ भन्ने हो भने धनगढीमा दुग्धजन्य वस्तुको बढि कारोवार हुने ठाउँ मध्येको एक चिरपरिचित डेरी। हाम्रो डेरी चिरपरिचित हुनुको कारण सञ्चालक र ग्राहक बिचको साईनो मात्र होईन् त्यसको पछाडी दुईजना मामा भान्जाको संघर्ष पनि लुकेको छ। अझ भन्ने हो भने ‘हाम्रो’ सबैको साझा शब्दले पनि महत्वपूर्ण भुमिका खेलेको छ। नरेश खत्री र हिक्मत कुँवर मामाभान्जाले डेरीको नाम छनौटमै एक महिना बिताएका थिए।
‘नाम छनौटमै हामीले एक डेढ महिना बितायौँ नरेशले भने, घर परिवारसंग सरसल्लाह गर्ने क्रममा जेठो दाईले हाम्रो डेरी राख्ने भन्नुभयो, मामा भान्जा, दाई सहित बसेर परिवारमा छलफल ग¥यौँ’ उनले भने, ‘अन्तमा हाम्रो डेरी नै राख्ने निधो ग¥यौँ, हाम्रो भनेपछि सबैलाई आफ्नो जस्तो लाग्छ भनेर नै त्यो नाम राखेका हौँ त्यही अनुसारको परिश्रम र व्यवहार पनि गर्दै आएका छौँ।’
मामा भान्जा भन्दा पनि साथित्व बढि
हाम्रो डेरीका सञ्चालक नरेश र हिक्मत नाताले मामा भान्जा भएपनि आफूहरुमा साथित्वको भावना बढि रहेको बताउँछन्। ‘बाल्यकालमा पनि संगसंगै खेलेको, हुर्केको हुनाले पनि हामीहरुमा साथित्वको भावना बढि छ। ’ नरेशले सुनाए, ‘कहिले ग्राहाकले पनि मामा भान्जा नै हो भनेर जिस्काउनु हुन्छ, मामालाई तपाई भन्नुपर्ने हो तर सानैदेखि साथी भएका कारण त–त बोले नै हुन्छ मुस्कुराउदै उनले भने।’
वैदेशिक रोजगारी होईन सानो भएपनि स्वदेशमै केही गर्नुपर्छ
स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणाले नै मामा भान्जाले धनगढीमा चार वर्ष अघि मात्र डेरी व्यवसाय सुरु गरेका हुन्। होटलमा समान्य मजदुरी गरिरहेकै अवस्थामा जागिर छोडेर व्यवसाय सुरु गरेका उनीहरु युवाले स्वदेशमै श्रम गर्न तयार हुनुपर्ने सुझाउछन्। ‘वैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै देशमा सानै भएपनि केही गर्नुपर्छ भन्ने सोचले नै हामीले व्यवसाय सुरु गरेका हौँ।’ खत्रीले भने, ‘अरु युवा दाजुभाई दिदीबहिनीहरुलाई पनि सानो भएपनि स्वदेशमै काम गर्न सुझाव दिन चाहान्छु।’