सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीलाई भेट्न बर्दिया पुगे मुख्यमन्त्री शाह

२०८२ असार २२, ०३:२३ खबर संवाददाता

धनगढी : रेशमलाल चौधरीलाई भेट्न सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह बर्दिया पुगेका छन।

बर्दियास्थित चौधरीको घरमा मुख्यमन्त्री शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबिच भेटवार्ता भएको हो।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह आज बिहान चौधरी निवास पुगेका हुन्। बिहिवार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको भागमा परेको एक मन्त्रालयको मन्त्री पद पनि मुख्यमन्त्री शाहले खोसेपछि नागरिक उन्मुक्ति पार्टी रुष्ट भएको छ।

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम संसदीय दलले शुक्रवार प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। नागरिक उन्मुक्ति पार्टी शनिवार सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ।

मुख्यमन्त्री शाह र सभापति देउवाबिच बुढानिलकण्डमा शनिवार भेटवार्ता भएको थियो। देउवाले नागरिक उन्मुक्ति पार्टीसँग छलफल र संवाद गरेर अघि बढ्न सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबिच भेट भएको हो।

 

कमेन्ट लोड गर्नुस