सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक भट्टलाई संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार

२०८२ असार १९, १२:४१

धनगढीः धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा नेपाली विषयका प्राध्यापक डाक्टर देवेन्द्र प्रसाद भट्टलाई संस्कृति विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १८ गते गरेको निर्णयअनुसार भट्टलाई उक्त सम्मान प्रदान गरिने भएको हो।

अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोटका स्थायी बासिन्दा डाक्टर भट्ट २०६८ सालदेखि सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्यापनमा संलग्न छन्। नेपाली भाषा–साहित्यमा विद्यावारिधि प्राप्त गरेका उनले दुई दशकभन्दा बढी समयदेखि शिक्षा, अनुसन्धान र साहित्यिक सिर्जनामा उल्लेखनीय योगदान दिँदै आएका छन्।

उनका ‘परिस्थिति’ कविता संग्रह, ‘तिनतन्त्र’ उपन्यास, ‘द्रष्टा दृष्टि’ समालोचना, ‘सिद्धगुफा एवं कालालेकी महात्म्य’, र ‘अछामको होरीमा’ अनुसन्धानमूलक कृति प्रकाशित छन्। साथै स्नातक र स्नातकोत्तर तहका पाठ्यपुस्तकसमेत प्रकाशन गरिसकेका छन्।

भट्टका नयाँ कृति ‘विरेचन आत्मकथा’, ‘दीप्तका कविता’ र ‘श्रीमद्‍भागवत पद्यानुवाद’ प्रकाशनको चरणमा छन्। उनले विभिन्न साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन्।

यसअघि उनी सावित्री कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार तथा नेपाल विद्याभूषण ’प्रथम’ पदक बाट सम्मानित भइसकेका छन्।

उनीसँगै बैतडीका नरेन्द्र प्रसाद भट्टलाई भाषा र साहित्य तर्फको प्रादेशिक प्रतिभा पुरस्कार दिइएको छ। सुदूरपश्चिमबाट सँगीत तथा नाट्य क्षेत्रमा बाजुराका प्रकाशबहादुर थापाले पुरस्कार पाएका छन्।

 

कमेन्ट लोड गर्नुस