प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम खानीडाँडामा सुरु

धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु भएको छ।
खेलकुद क्षेत्रमा पत्रकारहरूको क्षमता विकास गर्ने उद्देश्यले २ दिने तालिम आजदेखि सुरु गरेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

खेलकुद मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी, कैलालीको आयोजनामा खेल विधालाई पत्रकारितामा अगाडी बढाउन पत्रकारहरूको लागि तालिमको आयोजना गरिएको आयोजकले बताएका छन्।

२०६७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्चले विभिन्न समयमा खेल विधालाई पत्रकारिताका माध्यमबाट अगाडि बढाउँदै आएको आयोजकले जानकारी दिए। विश्वभरि जति महत्वपूर्ण खेल बन्दै गएको छ त्यसै अनुरूप खेलकुद पत्रकारिताको पनि महत्व बढेको समयमा पत्रकारहरूका लागि यो तालिम ज्यादै अर्थपूर्ण रहने आयोजकको दावी रहेको छ।

उद्घाटन समारोहको अध्यक्षता खेलकुद मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले गरेका थिए। यसै गरी तालिमको प्रमुख आतिथ्ययतामा नेपाल पत्रकार महासङ्घका सचिव बैकुण्ठराज पराजुली रहनुभएको थियो।
तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, पत्रकार दीपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको सहभागिता रहेको सचिव विराज रोस्याराले बताए।