सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०८२ जेठ २८, ०५:०८ खबर संवाददाता

धनगढी : कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हो।

यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको दाबी छ।

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताएका छन्। उनले बाढीले कृषि बालीमा नोक्सान गर्न सक्ने उल्लेख गरेका छन्।

कैलालीमा बाढीको अवस्थाबारे सरोकारवालासहित समुदायमा जानकारी दिनका लागि १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। स्थापना गरिएको यी केन्द्रमार्फत राम्रो तरिकाले सूचना प्रवाह भइरहेको कारण विपत् जोखिम न्यूनीकरणमा सहयोग पुगेको प्रमुख साहको भनाइ छ। जिल्लाको गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिकामा पहिरोको जोखिम रहेको जनाइएको छ। यस्तै मध्य क्षेत्रमा पर्ने पालिकामा नदी किनारको बस्तीमा कटानको जोखिम रहेको छ। टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने बाढीको उच्च जोखिम रहेको जनाइएको छ।

विपत् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपत्कालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताए। विपत् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष आइभिआर प्रणालीको सुरुवात गर्न गइरहेको उनले बताए।

कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायतको स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको छ।

मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी, भजनीलाई प्रभावित गर्दै आएको छ। यसै गरी कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दै आएको जनाइएको छ।

त्यस्तै पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई प्रभावित गर्दै आएको छ। विपत् आउनुपूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताए।

प्रदेश सरकार पनि मनसुन विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको जनाइएको छ। प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए।

 

 

कमेन्ट लोड गर्नुस