सुनमा कर वृद्धि गरेपछि सुनचाँदी व्यवसायी आन्दोलित

धनगढीः नेपाल सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्।
सरकारले गरेको आर्थिक वर्ष २०८२र०८३ को बजेटमा सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष यदु सुनारका अनुसार सरकारले बढाएको करले बजारमा अझ बढी सुन तस्करी बढ्ने छ। सरकारले बढाएको कर यथाशीघ्र फिर्ता लिन व्यवसयीहरूको माग छ।

धनगढीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। कर वृद्धि गरेको विरोधमा आज हातमा कालोपट्टि गरेर काम गरिरहेका छन। भोलि (बिहिवार) हात हातमा पसलका चाबी लिएर धनगढी चौराहा देखि जिल्ला प्रशासन कार्यालय कैलाली सम्म शान्तिपूर्ण र्याली निकालिने अध्यक्ष सुनारले बताए।

हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे। कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी व्यवसायीहरूको माग छ। निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन्।
सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाइएको छ। तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पुर्याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरिएको छ।
भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता व्यवसायीहरुको रहेको छ। आफुहरूले शान्तिपूर्ण रूपमा राखेका मागमा बेवास्ता भए कडा आन्दोलन गर्न बाध्य हुने व्यवसयीहरूको चेतावनी रहेको छ।