सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

२०८२ जेठ २७, ०१:०१ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ पारित गरेको छ।

सो विधेयक अब प्रतिनिधि सभामा पठाइने छ। 
सभाको सोमवारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पारित गरियोस् प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभाले सो प्रस्ताव सर्वसम्मतले पारित ग¥यो। प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै यातायातमन्त्री दाहालले विधेयक दुवै सदनबाट पारित भई कानुनको रूप लिएपछि आन्तरिक जलमार्गमा जलयान सञ्चालनका लागि बाटो प्रशस्त हुने बताए। 

नेपालबाहिर र समुद्रमा समेत पानीजहाज सञ्चालनका लागि सरकारले आवश्यक पहल र अग्रसरता लिने बताउनुहुँदै उनले नारायणी नदीबाट भारतसम्मको पहुँच र समुद्रसम्मको पहुँचका लागि भारत सरकारबाट अध्ययन भइरहेको जानकारी गराए। उहनले भने, “भारत सरकारको जल यातायात हेर्ने मन्त्रालयले नेपालको नदीमा जलयान सञ्चालनबारे डिपिआर बनाएर राखेको छ। थप अध्ययन आवश्यक हुने छ।”

छलफलमा भाग लिँदै सभाका सदस्य सुरेश आलेमगर, रुक्मिणी कोइराला र तारामान स्वाँरले जल यातायातलाई वैकल्पिक मार्गका रूपमा प्रभावकारी कार्यान्वयन गर्न सरकारको इमानदार प्रयास आवश्यक रहेको बताए। सभाका सदस्य स्वाँरले सरकारले तत्परता र इमानदारी देखाए जल यातायात पर्यटन, व्यापार र यातायातको एउटा उपयुक्त र प्रभावकारी माध्यम हुने जिकिर गरे। 

सभाका सदस्य डा. वेदुराम भुसालले समुद्रसँगको पहुँच हाम्रो अधिकारको विषय रहेको र कानुन बनेपछि समुद्रमा पानीजहाज सञ्चालन गर्न पाउने ढोका खुला हुने बताए। सभाका सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालबाट हजारौँ श्रमिक पानीजहाजमा कार्यरत रहेको बताउँदै नाभिक परिचयपत्र आफू नागरिक रहेको देशले जारी गर्नुपर्ने कानुनी व्यवस्थाले विदेशमा पानीजहाजमा कार्यरत कामदार परिचयपत्रविहीन हुनुपरेको र विधेयकले सो विषय सम्बोधन गरेकाले हजारौँ श्रमिकले राहत पाउने विश्वास व्यक्त गरे। 

  
 

कमेन्ट लोड गर्नुस