सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका शिक्षकमाथि प्रहरीद्धारा लाठीचार्ज

२०७६ साउन १, ०४:२१

जनकपुरमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ। बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको छ।  प्रहरीले शिक्षकहरुमाथि लाठीचार्ज गरे संगै शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकाहरुलाई  प्रहरीले पक्राउ गरेको छ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाए। अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएको असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका छन्।

माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो। मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल नगरेकाले बाध्य भएर सडक जाम गरेपछि मुख्यमन्त्रीको निर्देशनमा उल्टै आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत शिक्षकहरुको भनाइ छ।  

जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले दुस्खेसो पोखेका छन्। समितिका संयोजक धमेन्द्र कुमार यादवले संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगार खोसिएकोे गुनासो गरे।

कमेन्ट लोड गर्नुस