अत्तरियामा आजदेखि पिएफए भेट्रान्स कप सुरु हुँदै

धनगढीः कैलालीको अत्तरियामा आजदेखि पिएफए भेट्रान्स कप सुद हुँदैछ। अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स कपको छैठौ संस्करण सुरु हुन लागेको हो।
प्रतियोगिताका विजेताले एक लाख पुरस्कार पनि पाउने छन्। टी–२० फम्र्याटमा खेलाइने प्रतियोगितामा उपविजेता टिमले नगद ५० हजार पाउने छन्। असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिम सहभागी हुने आयोजकले बताएको छ। प्रतियोगितामा ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै सहभागी हुन पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ।

यस्तै वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।यसअघि अक्सन मार्फत खेलाडीहरू खरिद गरिएको भेट्रान्स प्रतियोगितामा यो वर्ष भने टिम नै सहभागी बनेका छन्।

अत्तरियामा रङ्गशाला निर्माणका लागि दबाब दिने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताइएको छ। प्रतियोगिता आज दिउँसो २ बजे अत्तरियामा रहेको सशस्त्र प्रहरीको खेल मैदानमा उद्घाटन गरिने आयोजकले जनाएको छ।
