सुदूर नेपाललाई विश्वसँग जोड्दै

सखियामा पहाडी महिलाले कम्मर मर्काउँदा हुड्केली र छलियामा गैर दलितको नृत्य

२०७६ साउन १, ०२:५९ खबर संवाददाता

सखिया थारु समुदायको मौलक नृत्य हो। तर मंगलवार सुदूरपश्चिमाञ्च साहित्य समाजको सभाहलमा थारु युवतीले नाच्ने सखिया नृत्यमा मादलको तालसंगै पहाडी समुदायका महिलाहरुले कम्मर मर्काइरहेका थिए। प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको सात दिनको प्रशिक्षणले सखियामा पहाडी समुदायका महिलाहरुलाई पनि नाच्ने बनाएको हो। सखिया सुदूरपश्चिमकै मौलिक सस्कृती भएकाले थारु समुदायमा मात्रै सिमित नराखि विस्तार गर्ने योजनाका साथ पहाडी समुदायका महिलाहरुलाई सखियाको प्रशिक्षण दिईएको हो।

प्रशिक्षणपछि दुर्गा बम मल्ल, हेमन्ता शर्मा, बागेश्वरी बिनाडी, ईश्वरी जोरा र निता खत्रीलाई सखियामा नाच्न कुनै समस्या थिएन्। प्रशिक्षणपछि प्रतिक्रीया दिदै मल्ले थारु समुदायमा सिमित रहेको सखिया सिकेपछि अव पहाडी समुदायमा पनि विस्तार भएको बताईन्। सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ। नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ। पहाडी समुदायका महिलाहरुलाई मोहनलाल चौधरी र शान्ती चौधरीको टिमले सखियाको प्रशिक्षण दिएको थियो। 
हुड्केली र छलियामा गैर दलित
ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्केली नाच दलित समुदायमा मात्रै सिमित छ। हुड्के र छलियाका जति पनि कलाकार छन् सबै दलित समुदायकै छन्। यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्ने पनि सबै  दलित समुदायबाटै प्रतिनिधित्व गर्दै आएका छन्। तर हुड्केली र छलियाको प्रशिक्षण भने गैर दैलित समुदायले पाएका छन्। गायक सुरत रावत डोटेली कान्छा, तीर्थराज पाण्डेय, तोयनाथ भट्ट र सुरेन्द्र संगमले छलिया र हुड्केलीको प्रशिक्षण लिएका हुन्। हुड्केलीको प्रशिक्षण भीमवहादुर आउजीले दिएका हुन् भने त्यस्को सैद्धान्तिक विषयमा गायक यज्ञराज उपाध्यायले प्रशिक्षण दिएका हुन्। छलिया भने तिनाराम नेपालीले सिकाए हुन्। 

पछिल्लो समयमा विभिन्न ठाउँमा नाच देखाए वाफत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेकोले दुवै नृत्यलाई व्यवसायीक बनाउनका लागि प्रशिक्षणमा अधिकासं गैर दलित समुदायलाई समेटिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए। उनले प्रशिक्षणपछि दलित समुदायमा सिमित भएको छलिया र हुड्केली गैर दलित समुदायमा पनि विस्तार भएको दावी गरे।

कमेन्ट लोड गर्नुस